ढुङ्गाअड्डा उकालोमा सार्वजनिक शाैचालय सञ्चालनमा, नागढुङ्गा र बलम्बुमा पनि शाैचालय बनाइने
थानकोट ।
कलंकी-नागढुङ्गा सडक खण्डअन्तर्गत चन्द्रागिरि नगरपालिका-१५, ढुङ्गाअड्डामा बुधबारबाट सार्वजनिक शौचालय सञ्चालनमा ल्याइएको छ ।
चन्द्रागिरि नगरपालिका, चन्द्रागिरि नगरपालिका वडा नं. १५ को कार्यालय र एरोसान सस्टेनेबल स्यानिटेशनको सहकार्यमा निर्माण गरिएको यो सार्वजनिक शौचालयलाई नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ र एरोसान सस्टेनेबल स्यानिटेशनकी सल्लाहकार सोनी श्रेष्ठले संयुक्त रूपमा बुधबार उद्घाटन गरेका हुन् ।
यो शौचालय प्रविधियुक्त, महिलामैत्री, अपाङ्गमैत्री, बालबालिकामैत्री, जेष्ठ नागरिकमैत्री तथा वातावरणमैत्री हुने गरी निर्माण गरिएको छ।
स्नानगृह सहित महिलाका लागि ३ वटा शौचकक्ष, पुरुषका लागि ४ वटा पिसाब गृह र २ वटा शौचकक्ष, अपाङ्गतामैत्री १ वटा शौचकक्ष यहाँ उपलब्ध छन्।
रोग संक्रमण न्यूनिकरणका लागि स्वचालित फ्लस, स्वचालित बत्ती, स्वचालित साबुन मेसिन र स्वचालित धाराको प्रयोग गरिएको छ।
साथै, महिलाहरूका लागि स्यानिटरी प्याड खरिद सुविधा पनि राखिएको छ।
काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकासँगको सहकार्यमा यसअघि ९ वटा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन गरिरहेको एरोसान नेपालले चन्द्रागिरि नगरपालिकामा पहिलोपटक यस्तो शौचालय सञ्चालनमा ल्याएको हो।
५२८ वर्ग फिट क्षेत्रफलमा निर्माण भएको यस शौचालयमा वातावरणमैत्री बनाउने उद्देश्यले ८ घन मिटर क्षमताको बायोग्यास प्लान्ट र ५०० वर्ग फिट क्षेत्रफलमा वर्षा पानी संकलन प्रणाली जडान गरिएको छ। शाैचालय निर्माणमा करिब १ करोड रुपैयाँ खर्च भएको बताइएको छ।
नगर क्षेत्रमा पहिलो सार्वजनिक शाैचालय उद्घाटन गरेपछि नगरप्रमुख घनश्याम गिरीले नगरको सार्वजनिक विकास कार्यलाई व्यवस्थित रूपमा अघि बढाइरहेका छौं भनेका छन् । उनले भनेका छन- सार्वजनिक शौचालयको आवश्यकता महसुस गर्दै योजना बनाएर अघि बढेका हौं। यो नमूनाको रूपमा रहेको अत्याधुनिक शौचालयपछि गुर्जुधारास्थित यातायात कार्यालय र नागढुंगा क्षेत्रमा पनि उचित स्थान पहिचान गरेर एरोसानकै सहकार्यमा थप शौचालय निर्माण गर्ने योजना छ।”
उपप्रमुख बसन्ती श्रेष्ठले भने यो शौचालय महिलालाई प्राथमिकतामा राखेर निर्माण गरिएको देख्दा खुशी लागेको बताउँदै वातावरणलाई ध्यानमा राखी उत्सर्जित फोहरको बायोग्यास मार्फत स्रोतमै व्यवस्थापन गरेर नदीनालामा जाने फोहर केही मात्रामा भए पनि नियन्त्रण गर्न योगदान दिएकोमा सहकार्य गरिरहेको संस्था एरोसान नेपाललाई धन्यवाद व्यक्त गरिन् ।
‘यस्ता शौचालयहरू अन्य स्थानमा पनि निर्माण गर्न आवश्यक छ’ उपमेयर श्रेष्ठले भनिन् ।
चन्द्रागिरि नगरपालिका वडा नं. १५ का अध्यक्ष घनश्याम लुइँटेलले ढुङ्गाअड्डा बस बिसौनी क्षेत्रमा सर्वसाधारणको चहलपहल बढी हुने भएकाले शौचालय सुविधा दिनु स्थानीय सरकारको दायित्व भएको बताए ।
“पहिले फोहर फाल्ने स्थानको रूपमा प्रयोग हुँदै आएको यस क्षेत्रलाई सदुपयोग गर्दै अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरेका छौं। अब यस क्षेत्रको बाँकी भागलाई हरियाली पार्कका रूपमा विकास गर्ने र तल्लो तलामा प्रहरी बिट स्थापना गर्ने योजना छ,” वडा अध्यक्ष लुइँटेलले भने ।
शाैचालय सुरुवात कार्यक्रममा एरोसान सस्टेनेबल स्यानिटेशनकी कार्यक्रम अधिकृत अर्चना श्रेष्ठले भनिन् “यो शौचालयबाट निस्कने ठोस तथा तरल फोहरलाई स्रोतमै व्यवस्थापन गर्न बायोग्यास प्लान्ट जडान गरिएको छ। साथै आकाशेपानी व्यवस्थापनका लागि जमिन पुनःभरण गरी स्रोत संरक्षण गरिएको छ।”
शाैचालय प्रयोगका लागि १० रुपैयाँ तिर्नुपर्नेछ । बिहान ६ बजेबाट बेलुकी ९ बजेसम्म सो शाैचालय सञ्चालन हुनेछ । बालबालिका, ज्येष्ठ नागरिक, सुरक्षाकर्मी, अपाङ्गता भएका नागरिकहरूका लागि भने यो शाैचालय निःशुल्क प्रयोगका लागि उपलब्ध हुने बताइएको छ ।
शाैचालय व्यवस्थापन एरोसान सस्टेनेबल स्यानिटेशनले गर्ने गरी चन्द्रागिरि नगरपालिकासँग सम्झाैता भएको हो ।
नगर क्षेत्रमै पहिलोपटक निर्माण गरिएको स्मार्ट शाैचालय प्रयोगमा ल्याउने कार्यक्रममा चन्द्रागिरि नगरका जनप्रतिनिधिहरू, कर्मचारीहरू, सुरक्षा निकायका स्थानीय यूनिटका प्रमुख तथा प्रतिनिधिहरू, स्थानीयबासीहरू लगायतको उपस्थिति रहेको थियो ।












