लागुपदार्थ सेवन गरी सवारी चलाउने २३ जना चालक नियन्त्रणमा
थानकोट ।
लागुपदार्थ सेवन गरी सवारी चलाउने २३ जना चालकलाई जिल्ला ट्राफिक प्रहरी काभ्रेले नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाएको छ ।
सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने अभियानस्वरुप जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले लागुपदार्थ सेवनको जाँचलाई तीव्रता दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार, सवारी दुर्घटनाको संख्यालाई न्यूनिकरण गर्न करिब दुई महिनादेखि लागुपदार्थ सेवनको जाँचलाई तीव्र बनाएका छौं । असार ६ देखि साउन २७ सम्म काभ्रेका विभिन्न स्थानमा गरिएको सवारी जाँच गर्दा २३ जनाले लागुपदार्थ सेवन गरी सवारी चलाएको पुष्टि भएको उनले जानकारी दिए ।
उनका अनुसार, असार ६ गते साँगामा २१ जनामा गरिएको परीक्षणमा ३ जनामा पुष्टि भएको, साउन १ गते पनौतीमा ४० जनामा गरिएको परीक्षणमा ८ जनामा पुष्टि भएको, साउन ६ गते मंगलटारमा ४० जनामा गरिएको परीक्षणमा शून्य, साउन ६ गते पाँचखालमा २९ जनामा गरिएको परीक्षणमा ३ जनामा र साउन २७ गते साँगामा ४० जनामा गरिएको परीक्षणमा ९ जनामा लागुपदार्थ सेवन गरिएको पुष्टि भएको थियो ।
करिब दुई महिनाको अवधिमा १७० जनामा गरिएको परीक्षणमा २३ जनाले लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएको उनले बताए । उनका अनुसार, यसमा अधिकांश यात्रुबहाक बस, मालबहाक ट्रक, ट्रिपरका चालक रहेका छन् । लागुपदार्थ सेवन गरी सवारी चलाएको उनीहरुमाथि लागुऔषध सेवन शीर्षकमा पाँच दिनकोम म्याद मुद्दा चलाई आवश्यक कारबाही गरिएको उनले जानकारी दिए ।


















