चीन जाँदै प्रधानमन्त्री ओली

Thankot Times

थानकोट ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन जाने भएका छन् ।

सांघाई सहयोग संगठन (एससीओ)को २५औँ शिखर सम्मेलनमा सहभागी हुन उनी चीन जान लागेका हुन् ।

“प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी भइरहेको छ । हामी उपयुक्त समयमा जानकारी गराउँछौँ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले भने ।

सांघाई सहयोग संगठनको शिखर सम्मेलन आउँदो भदौ १५ र १६ गते चीनको तियानजिमा आयोजना गरिँदै छ । सम्मेलनमा संगठनका सदस्य राष्ट्रका सरकार प्रमुख सहभागी हुनेछन् ।

सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि चीन जाँदै छन् ।

स्रोतका अनुसार, सम्मेलनको ‘साइडलाइन’मा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतका प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने समय मिलाउने प्रयास भइरहेको छ ।

चीनबाट फर्किएपछि प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले भदौ ३१ देखि असोज १ गतेसम्म भारत भ्रमण गर्ने गरी परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ ।

एससीओ सन् २००१ जुन १५ मा कजाखस्तान, चीन, कीर्तिस्तान, रूस, ताजिकिस्तान र उज्बेकिस्तानद्वारा स्थापित एक स्थायी अन्तरसरकारी अन्तर्राष्ट्रिय संगठन हो ।

हाल एससीओमा भारत, इरान, कजाखस्तान, चीन, कीर्गिस्तान, पाकिस्तान, रूस, ताजिकिस्तान र उज्बेकिस्तान गरी नौ सदस्य छन् । संगठनमा अफगानिस्तान, बेलारुस र मंगोलिया गरी तीन राष्ट्र पर्यवेक्षक छन् ।

संगठनमा नेपाल, अजरबैजान, अर्मेनिया, बहराइन, इजिप्ट, कम्बोडिया, कतार, कुवेत, माल्दिभ्स, म्यानमार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, टर्की र श्रीलंका गरी १४ राष्ट्र ‘डायलग पार्टनर’ छन् ।

प्रधानमन्त्री ओलीले गत वर्ष मंसिरमा चीनको औपचारिक भ्रमण गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *