मच्छेगाउँमा भदाै १४ मा राष्ट्रिय लाखे नाच प्रदर्शनी हुने, ५० जिल्लाका लाखेहरु सहभागी हुने अपेक्षा
थानकोट ।
नेपाल साँस्कृतिक कला मन्दिरको आयोजनामा चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँमा आउँदो भदाै १४ गते शनिबार राष्ट्रिय लाखे नाच प्रदर्शनी हुने भएको छ ।
स्थानीय भलिबल ग्राउण्डमा आयोजना हुने सो एक दिने प्रदर्शनीमा विभिन्न ५० जिल्लाबाट सहभागीहरू मच्छेगाउँ पुग्ने अपेक्षा गरिएको छ ।
सो क्रममा सांस्कृतिक कार्यक्रम र सम्मान कार्यक्रम पनि सञ्चालन हुने नेपाल साँस्कृतिक कला मन्दिरका रमेश शाहीले जानकारी दिए । ।
लाखे नाचमा सहभागी हुन चाहने इच्छुक समूह तथा व्यक्तिहरूले भदाै १२ गतेभित्र नाम दर्ता गर्न सक्ने जनाइएको छ ।
बिहीबार सो प्रदर्शनी सम्बन्धी ब्यानर सार्वजनिक गर्ने क्रममा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले सम्बन्धित सबैमा लाखे नाच प्रदर्शनीमा सहभागी हुन आह्वान गर्दै चन्द्रागिरि नगरमा आयोजना हुँदै आएको लाखे नाच प्रदर्शनीले देशभरका नेवार समुदायका कला संस्कृति एकै स्थानमा देख्न, हेर्न पाउनु गाैरवको क्षण भएको प्रतिक्रिया दिए ।
आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला संस्कृति र पहिचानको बारेमा अवगत गराई उनीहरुलाई प्रत्यक्ष अनुभव गराउनु नै प्रदर्शनीको मुख्य उद्धेश्य रहेको आयोजक नेपाल साँस्कृतिक कला मन्दिरले जनाएको छ ।













