भारतीय विदेश सचिव काठमाडाैंमा, सोमबार स्वदेश फर्कने
थानकोट ।
भारतीय विदेशसचिव विक्रम मिस्री नेपाल भ्रमणमा आइतबार काठमाडौँ आइपुगेका छन् ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ अन्तिम साता हुने भनिएको भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनुको साथै एजेन्डाको विषयमा छलफल गर्ने बताइएको छ ।
बिहान ९ बजे विशेष विमानबाट आइपुगेका विदेश सचिव मिस्री सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
बिहान १०ः३० बजे उनी प्रधानमन्त्री ओलीलाई भेटिसकेपछि शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम रहेको बताइको छ । राष्ट्रपति पौडेललाई भेटिसकेपछि सचिव मिस्री सिधै बुढानीलकण्ठ जानेछन् । त्यहाँ उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने बताइएको छ ।
सभापति देउवालाई भेटिसकेपछि उनी सिधै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार जानेछन् । प्रचण्डलाई भेटिसकेपछि परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईसँग दुईपक्षीय भेटवार्ता हुने स्रोतले जनाएको छ। सचिव स्तरीय वार्ता सकेपछि सचिव मिस्रीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गर्नेछन्।
त्यसपछि परराष्ट्र सचिव राईले भारतीय विदेश सचिव मिस्रीको सम्मानमा रात्रिभोजको आयोजना गर्ने बताइएको छ।
भदौ २ गते सचिव मिश्रीले पशुपतिको दर्शन गरेर स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
तस्बिरः भारतीय दुतावास ।













