पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले भदौ ६ गते महिला नेतृहरूलाई तिजको दर खुवाउने भएकी छन्।
एमालेको पार्टी सदस्यता नै नवीकरण खारेज गरेर अध्यक्ष केपी शर्मा ओलीले सक्रिय राजनीतिमा आउन वञ्चित गर्ने प्रयास गरेको अवस्थामा भण्डारीले महिला नेतृहरुलाई बोलाएर दर खुवाउने भएकी हुन्।
भण्डारीको सचिवालयका अनुसार भंगालस्थित आफ्नै निवासमा एमाले केन्द्रीय कमिटीमा रहेका महिला सदस्यहरू, पार्टीमा आवद्ध महिला सांसद, विभाग तथा जनवर्गीय संगठनमा रहेका महिलाहरूलाई आमन्त्रण गरिएको छ।
पूर्वराष्ट्रपतिको हैसियत त्यागेर भण्डारी एमालेको नेतृत्व नै गर्ने गरी राजनीतिमा सक्रिय हुन खोजेपछि ओलीले एक वर्षअघि नै नवीकरण भएको सदस्यता खारेज गरेका थिए।
भण्डारी औपचारिक रुपमा पार्टी गतिविधिमा सहभागी हुन नपाए पनि एमालेका नेता कार्यकर्तासँग जोडिने प्रयासमा रहेकी छन्। त्यसैका लागि उनी सोमबार विराटनगर पुगेकी छन्।
एक पत्रिकाको कार्यक्रम मा सहभागी हुन विराटनगर पुगेकी भण्डारीले त्यहाँ एमालेका विभिन्न तहका नेता तथा कार्यकर्तासँग भेटघाट गरेकी छन्। त्यस्तै, उनी भदौ १४ गते वीरगञ्ज जाने कार्यक्रम तय भएको छ।













