आज १८६औं विश्व फोटोग्राफी दिवस मनाइँदै

Thankot Times

थानकोट ।

‘हजारौँ शब्दले भन्न नसक्ने कुरा एउटै तस्बिरले प्रस्ट पारिदिन्छ’ सम्भवतः यो विश्वविख्यात अवधारणालाई पछ्याउँदै पत्रकारितामा फोटाको प्रयोग व्यापक हुँदै आएको छ ।

फोटोग्राफीको विकाससँगै कतिपय विकृति पनि बढेका छन् । विशेषतः ‘डिजिटलाइज’ प्रविधिको प्रयोगसँगै कतिपय अवस्थामा नैतिकता र मर्यादाका प्रश्न पनि उठ्ने गरेका छन् ।

आज १८६ औँ विश्व फोटोग्राफी दिवस हो । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ ।

हरेक वर्ष अगस्ट १९ मा यो दिवस मनाउने गरिएको छ ।

संसारलाई बुझ्न फोटोग्राफीले निकै सहज बनाएकोले यसको सुरुआत भएको दिनलाई विशेष रूपमा स्मरण गर्ने गरिएको छ ।

औपचारिक रूपमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो ।

१८६ औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल) यस वर्ष फोटो प्रदर्शनी गरेर मनाउने भएको छ।

सो दिन केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको फ्लाइट एण्ड फ्रेम नामक एकल फोटो प्रदर्शनी गर्ने भएको हो।

मंगलबार काठमाडौंको हनुमानढोका परिसरमा दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म आयोजना हुने प्रदर्शनीमा वन्तले हेलिकप्टरबाट खिचिएका नेपालका विभिन्न भूभागका आकर्षक तस्बिरहरू रहने छन् ।

संस्थाले फोटो अवलोकनका लागि फोटोपत्रकार, फोटोग्राफर, सञ्चारकर्मी तथा फोटोप्रेमीहरूलाई सहभागि आग्रह समेत गरेको छ।

तस्बिरः प्रकाश गोपाली ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *