नन्दन चम्किएपछि टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित

Thankot Times

थानकोट ।

अस्ट्रेलियाको नर्दन टेरेटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ।

यसअघिका तीन खेलमा लगातार पराजय भोगेको नेपालले मंगलबार होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गर्‍यो।

नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमै अलआउट भयो।

होबार्टलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका नन्दन यादवले ५ विकेट लिए। उनले ३ ओभरमा १७ रन दिए। कप्तान रोहित पौडेल, रिजन ढकाल, सन्दीप लामिछाने र कुशल भुर्तेलले १-१ विकेट लिए।

होबार्टका लागि बाड्ली होपले ३१ रन र चार्ली वाकिमले २८ रन जोड्नुबाहेक अरु ब्याटरले उल्लेख्य रन बनाउन सकेनन्।

त्यसअघि डार्बिनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १८० रन जोड्यो।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेलले २७ रन र आसिफ शेखले २९ रन बनाए। पावरप्लेको अन्तिम ‌ओभरमा क्याच हुनुअघि भुर्तेलले २० बलमा ४ चौका प्रहार गरे। आसिफ २८ बल खेलेर २ चौका प्रहार गर्न सके।

भीम सार्कीले १८ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले ९ रन मात्र बटुल्न सके। कुशल मल्लले ८ बल खेल्दा ६ रन मात्र बनाए।

नेपालका लागि सर्वाधिक रन बनाएका आरिफ शेखले २६ बलमा ३ चौकाको मद्दतमा ३३ रन जोडे। करण केसी १ रनमा आउट हुँदा लोकेश बमले १० बलमा ३ चौका र १ छक्काको मद्दतमा नटआउट २५ रन बनाए।

बलिङमा होबार्टका निभेथन राधाकृष्णनन र राफ म्याकमिलनले २-२ विकेट लिए।

सिरिजमा नेपालले यसअघिका तीनै खेलमा पराजय भोगेको थियो। नेपाल घरेलु टोली नर्दन टेरेटोरी, बंगलादेश ए र मेलवर्न स्टार्स एकेडेमीसँग पराजित भएको थियो।

सिरिजमा अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बंगलादेशको ए टोलीसँग सहभागी छन्।

अब नेपालले बुधबार मेलवर्न रेनेगेड्स एकेडेमी र शुक्रबार पाकिस्तान शाहिन्सासँग खेल्नेछ।

तस्बिरः क्यान


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ