टप टी-२० सिरिजमा नेपालको लगातार दोस्रो जित, नेपाल तालिकाको छैटौं स्थानमा उक्लियो

Thankot Times

थानकोट।

अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

आफ्नो पाँचौँ खेलमा बुधबार नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो ।

टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको मेलबर्न २० ओभर खेल्दै सबै विकेट गुमाएर १०६ रनमा समेटिएको हो ।

चार ओभर बलिङ गर्दा १७ रन दिएर सोमपालले पाँच विकेट लिएका थिए ।

काजालिस एरेनामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रनको योगदान दिए । उहाँले  २२ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २९ रन बनाए।

त्यसैगरी कप्तान दीपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन बनाउँदा लोकेश बमले १६ बलमा २४ रन थपे । भीम सार्कीले १७ रन बनाउँदा आरिफ शेख र रुपेश सिंहले समान १२/१२ रन जोडे ।

बलिङतर्फ रेनेगेड्सका फर्गस ओनिल, क्यालम स्टो, माइकल आर्चर र लचलान बाङ्सले समान दुई–दुई विकेट हात पारे ।

१४० रनको लक्ष्य पछ्याएको मेलबर्न २० ओभरमा १०६ रनमा अलआउट भएको हो ।

उसका लागि अर्जुन नायरले सर्वाधिक २६ रन बनाउँदा जे लेमिरले १८ तथा ह्‍यारी डिक्सनले १६ रन जोड्नुभयो । अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् ।

मेलबर्नविरुद्ध कसिलो बलिङ गरेको नेपालका लागि सोमपालले पाँच विकेट हात पार्दा कुशल भुर्तेलले दुई विकेट लिए । साहब आलम र रुपेश सिंहले एकएक विकेट हात पारे ।

पाँच खेल खेलिसकेको नेपालले तीन खेलमा लगातार पराजयको सामना गरेपछि दुई खेलमा लगातार जित निकालेको हो ।

बुधबारको खेलमा मेलबर्नमाथिको ३३ रनको जितसँगै तालिकामा नेपालले चार अङ्क जोडेको छ ।

याे जितसँगै ११ टिम सहभागी सिरिजमा नेपाल तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

नेपालले अर्को खेल शुक्रबार पाकिस्तानसँग खेल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ