नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा रास्वपाका बागमती प्रदेश सल्लाहकार पक्राउ

Thankot Times

थानकोट ।

रुपन्देहीमा नक्कली शैक्षिक प्रमाणपत्र बनाउने प्रकरणमा संलग्न रहेको आरोपमा थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–५ पदमपुरका हरिप्रसाद कँडेल रहेका छन् । उनलाई चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको डिएसपी सुरज कार्कीले जानकारी दिए ।

कँडेल रास्वपाको बागमती प्रदेश समिति सल्लाहकार हुन् ।

उनले चितवनमा कलेज कोच प्रालि नामको इन्स्टिच्युट सञ्चालन गरेका छन् । 

यसअघि साउन ३० गते रुपन्देहीको बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट विभिन्न विश्वविद्यालयका ठुलो मात्रामा नक्कली प्रमाणपत्रसहित भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादव पक्राउ परेका थिए । यादवको साथबाट त्रिभुवन विश्वविद्यालयका १०० वटा ट्रान्सक्रिप्ट, ३६ वटा खाली प्रमाणपत्र, विभिन्न शैक्षिक संस्थाका ३ वटा नक्कली प्रमाणपत्र, ५ वटा स्ट्याम्प प्याड, नक्कली होलोग्राम र स्टिकरहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा यादवले कँडेलका लागि काम गरेको स्वीकारेपछि कँडेललाई पक्राउ गरिएको हो । कँडेल चितवनको लायन्स चोकस्थित कलेज कोच नेपाल प्रालि नामक शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएका थिए । उनी उक्त परामर्श केन्द्रका अध्यक्षसमेत रहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले नक्कली प्रमाणपत्र प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

रास्वपाले गर्यो पार्टीबाट निलम्बन

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बागमती प्रदेशका प्रशिक्षण विभागमा रहेका हरि प्रसाद कडेललाई निलम्बन गरेको छ । शुक्रबार केन्द्रीय अनुशासन आयोगले कँडेललाई निलम्बन गरेको हो ।

कानुन विपरीतका कार्यहरू नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा संलग्न भनी रूपन्देही जिल्ला प्रहरी कार्यालयबाट पक्राउ गरिएको सूचनापछि पार्टीले कडेललाई निलम्बन गरेको हो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *