सवारी साधनको इम्बोस्ड नम्बर रिड गर्न थानकोटमा गेट !

Thankot Times

थानकोट ।

सवारीसाधनबाट देशैभरि फेरि सडक दस्तुर उठाउने गरी गृहकार्यमा जुटेको सडक बोर्डले पश्चिम नेपालबाट त्यसको शुरूवात गरिने भएको छ । 

बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले भैरहवा-भूमही सडकबाट त्यस्तो दस्तुर उठाउने गरी काम अगाडि बढाइएको बताएका हुन्।

उनका अनुसार कोभिड महामारीपूर्व उठाउने गरिएको दस्तुर रकममा वृद्धि गरी अब शुल्क तिराइने छ।

यायायात व्यवसायीहरूको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्षले टोल ट्याक्स पनि भनिने सडक प्रयोग दस्तुर सरकारले बढाएपछि आफूहरूले भाडा पनि बढाउने चेतावनी दिएका छन्।

मोटरसाइकलको हकमा भने सडक प्रयोग दस्तुर नउठाउने बोर्डले जानकारी दिएको छ।

हुन त नागढुङ्गा सुरुङमार्गमा लाग्ने सडक प्रयोग दस्तुर सरकारले सार्वजनिक गरिसकेको छ, तर त्यसभन्दा अगाडि पश्चिम नेपालबाट दस्तुर सङ्कलन थालिने देखिएको छ।

पूर्वपश्चिम भएर छोटो दूरीका गुड्ने सवारीसाधनहरू पश्चिम नवलपरासीको भैरहवा-भूमही सडक भएर आवतजावत गर्ने गरेका छन्।

“तुरुन्त गर्न सकिने भनेको भैरहवा-भूमही, पथलैया-वीरगन्ज, धरान-विराटनगर र मुग्लिन-नारायणघाट सडक हुन्,” कार्यकारी निर्देशक केसीले बीबीसी नेपालीसँग भने।

“नागढुङ्गाभन्दा पहिला भैरहवा-भूमही हुन सक्छ। यो महिनाको अन्त्यबाट दस्तुर सङ्कलन शुरू गर्छौँ होला।”

अधिकारीहरू भने सडक दस्तुर लिएर सम्बन्धित सडककै अवस्था सुधारमा खर्चिने भएकाले सवारीसाधनहरूको लागत नबढ्ने हुँदा भाडा वृद्धि नहुने दाबी गरेका छन्।

कार्यकारी निर्देशक केसीका अनुसार उपयुक्त ठाउँहरूको निर्क्यौल गरी टोल गेट राखिने छ।

“कहाँ टोल गेट राख्दा मुआब्जा पनि दिनु पर्दैन, ट्राफिक भिडभाड पनि हुँदैन। त्यो पत्ता लगाउन हामी टोली खटाउँदै छौँ,” उनले अगाडि थपे।

सडक विभागले भने इम्बोस्ड नम्बर प्लेटलाई ध्यानमा राखी प्रत्येक प्रदेशको मुख्य राजमार्गको प्रवेशबिन्दुमा रेडिओ फ्रिक्वेन्सी आइडेन्टीफिकेशन (आरएफआईडी) गेट राखिने जनाएको छ।

“थानकोट क्षेत्रमा एउटा खडा गरेर अनुगमन थालिसकिएको छ भने नागार्जुनमा अर्को सञ्चालनमा छ। बीपी राजमार्गको प्रवेशबिन्दुमा र सुमोहरू चल्ने फर्पिङमा गरी चारवटा काठमाण्डू उपत्यकाभित्र भयो,” विभागका निर्देशक श्रीकान्त यादवले भने।


Leave a Reply

Your email address will not be published. Required fields are marked *