नागढुङ्गा-मुग्लिङ सडकमा बनेका खाल्डाखुल्डी भदौ मसान्तसम्ममा पुरिसक्ने कार्ययोजना तयारी

Thankot Times

थानकोट ।

सडक विभागले नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै  नागढुङ्गा–मलेखु–मुग्लिङ सडक खण्डमा यात्रा सहज र सुरक्षित बनाउन विशेष कार्ययोजना तयार गरेको छ । 

कार्ययोजना अनुसार, मनसुनजन्य विपद् बाट सडक अवरुद्ध भएमा तत्काल खुलाउन र चाडपर्वमा सहज आवागमन सुनिश्चित गर्न २४ सै घण्टा हेभी इक्विपमेन्ट (यन्त्र–उपकरण) तयारी अवस्थामा राखिने विभागले जनाएको छ ।

कार्ययोजनामा मनसुनका बेला बाढी–पहिरोका कारण हुन सक्ने अवरोधलाई प्राथमिकतामा राखिएको छ । यसका लागि पहिरोको उच्च जोखिम रहेका क्षेत्रहरूमा यन्त्र–उपकरणसहितको टोली तैनाथ गरिएको विभागका प्रवक्ता  प्रभातकुमार झाले जानकारी दिए ।  

जसले पहिरो जानेबित्तिकै अवरुद्ध हटाउनका लागि सहज हुनेछ साथै तत्काल यातायात सुचारु गराउन सकिने उनको भनाइ छ ।

उनकाअनुसार यो सडक खण्डलाई सुरक्षित बनाउन विभिन्न रोकथामका उपायहरू पनि अपनाइएको छ । 

यस्तै झ्याप्लेखोला र कृष्ण भिरजस्ता संवेदनशील क्षेत्रमा पहिरो रोकथाम तथा ‘स्लोप स्टेबिलाइजेसन’को काम जारी छ ।

उनले महेश खोला लगायतका स्थानमा खोलाले गर्ने कटान नियन्त्रणको काम सम्पन्न भइसकेको र  टेवा पर्खाल निर्माण कार्य चलिरहेको बताए । 

यस्तै भू–संरक्षणका लागि हरियाली प्रविधिको प्रयोगलाई निरन्तरता दिइएको छ ।

आवश्यक स्थानमा पुल, कल्भर्ट तथा नाली निर्माण र सफाइको कामलाई पनि तीव्र पारिएको छ ।

यसैगरी दसैँ–तिहार जस्ता ठुला चाडपर्वमा घर फर्किने यात्रुहरूको चापलाई ध्यानमा राख्दै सडक मर्मत तथा सुधार कार्यलाई पनि विशेष प्राथमिकता दिइएको छ ।

कार्ययोजना अनुसार, भदौ महिनाको अन्तिम सातादेखि मसान्तसम्ममा सडकका सम्पूर्ण खाल्डाखुल्डी पुर्ने काम सम्पन्न गरिने विभागले जनाएको छ ।

विभागका अनुसार चालु अवस्थामा रहेका ठेक्का अन्तर्गतका निर्माण व्यवसायीहरूलाई पनि आफ्नो क्षेत्रको खाल्डाखुल्डी तत्काल मर्मत गर्न निर्देशन दिइएको छ ।

साथै, सवारी साधनलाई आवतजावतमा कुनै कठिनाइ हुन नदिन बढी भत्किएका सडक खण्डहरूमा ग्राभेल राखेर सतह मिलाउने जनाइएको छ  । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *