नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

Thankot Times

थानकोट ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको पदाधिकारी बैठक एक्कासि स्थगित गरिएको छ ।

दिउँसो २ बजे पार्टी मुख्यालय पेरिसडाँडामा तय गरिएको बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान, समसामयिक राजनीतिक घटना, एकताबाट आएकाहरूको जिम्मेवारी लगायतको एजेण्डा थिए ।

शनिबार प्रकाश विकल्पद्वारा लिखित ‘एन्टिथेसिस’ पुस्तकका सन्दर्भमा वर्तमान नेपाली राजनीतिको अग्रगामी रूपान्तरण बहस कार्यक्रममा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष ‘प्रचण्ड’प्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोकेको कुरा दन्त्यकथा भइसकेको टिप्पणी गरेका थिए ।

‘प्रचण्ड’ले बुधवार सरकारमा नभए पनि राजनीतिको खाँबो आफैँले थेगेजस्तो लागिरहेको बताएका थिए ।

त्यसको जवाफ दिँदै शर्माले शेषनाग हल्लिँदा भूकम्प नआउने भन्दै विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्ने पुष्टि गरिसकेको बताए । बैठक स्थगितको कारण नखुले पनि अध्यक्षलक्षित शर्माको पछिल्लो भनाइपछि हेडक्वार्टरको केही तयारी रहेको स्रोतको भनाई छ । 

कार्यालय सचिव गणेशमान पुनले बैठक तय भए पनि व्यस्त सेड्युलका कारण अहिले स्थगित गरिएको बताएका छन् ।

यसअघिको माओवादी बैठकले उपमहासचिव जनार्दनको गतिविधि लक्षित गर्दै पार्टीभित्रको गुट उपगुट नै समस्याको रूपमा रहेको निचोड निकाल्दै स्वार्थ समूह चलाए कारवाही गर्ने निष्कर्ष निकालेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *