नाडा अटो शो-२०२५ सम्पन्न, कति जनाले गरे अवलोकन ?

Thankot Times

थानकोट।

काठमाडौंको भृकुटीमण्डपमा १७औँ संस्करणको नाडा अटो शो, २०२५ सकिएको छ । भदौ ३ देखि सुरु भएको नाडा अटो शो आइतबार (भदौ ८) सकिएको हो ।

यसपटकको नाडा अटो शो भव्यरूपमा सफल भएको नाडाका अध्यक्ष करण चौधरीले दाबी गरे । “हामीले १७औँ संस्करणको नाडा अटो शो, २०२५ निकै भव्य बनाउन सफल भएका छौँ,” उनले भने, “यो ऐतिहासिक शोमा एकलाख ६० हजार बढी दर्शकले अवलोकन गर्नुभएको तथ्यांक छ ।”

नाडाको ६ दिन ऐतिहासिक उपलब्धि भएको चौधरी बताउँछन् । “नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका यी उपलब्धिहरूलाई एउटा शुभारम्भको रूपमा लिएको छु । यसले हाम्रो अपेक्षामा अझ वृद्धि भएको छ र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ,” अध्यक्ष चौधरीले भने ।

समापन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नाडाले गरेको नीतिगत विषयलाई आफूले पनि मन्त्रिपरिषद्‌मा उठाउने बताए । नेपालमा प्रत्येक वर्ष हजारौँ मानिसको सडक दुर्घटना हुने गरेको र त्यसलाई सडक सुरक्षाका बारेमा प्रभावकारी बनाउन सके कम हुने उनको भनाइ छ ।

“अहिले सरकारी तथ्यांकअनुसार प्रतिदिन सात जनाको मृत्यु भएको देखिन्छ,” उनले भने,“सरकारी तथ्यांक सही नहुन सक्छ । कतिपय दुर्घटना दर्ता भएका हुँदैनन् । त्यसकारण यो निकै ठूलो संख्या हो ।”

प्रदर्शनीमा नाडाले हरेकदिन विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो । यसैक्रममा शनिबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीको उपस्थितिमा सडक र यातायात विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *