कृषि विकास बैंकको अध्यक्षमा पौडेल नियुक्त

Thankot Times

थानकोट ।

कृषि विकास बैंकको सञ्चालक समितिमको अध्यक्षमा डिमप्रसाद पौडेल चयन भएका छन् ।

सञ्चालक समितिको आज (बुधबार) बसेको बैठकले अध्यक्षमा पाैडेललाई चयन गरेको हो ।

पौडेललाई सञ्चालक समितिको अध्यक्ष बन्ने गरी अर्थ मन्त्रालयले सञ्चालक सदस्यमा नियुक्त गरेको थियो ।

नेपाल वायुसेवा निगममा महाप्रबन्धक भइसकेका पौडेलले निजी क्षेत्रका विभिन्न कम्पनीको नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।

पौडेललाई सोही विज्ञताका आधारमा सञ्चालक समितिमा पठाएको मन्त्रालयले उल्लेख गरेको थियो ।

अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले उनको २५ वर्षभन्दा लामो व्यवसायिक अनुभवको आधारमा सञ्चालक समितिमा लैजाने निर्णय लिएका हुन्। तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पौडेललाई निगमको महाप्रबन्धकमा नियुक्त गरेका थिए । पौडेलले महाप्रबन्धक हुँदा निगमलाई कम्पनी मोडेलमा लैजाने प्रयास गरेका थिए ।

निगमको सञ्चालक समिति सदस्य फुर गेल्जे शेर्पाको नेतृत्वमा कार्यदल पनि बनाएका थिए । त्यही कार्यदलको प्रतिवेदनअनुसार कम्पनी मोडेलमा लैजान खोजिएको थियो । तर, निगमका कर्मचारीको विरोधका कारण उक्त प्रक्रिया अझै अघि बढेको छैन ।

पौडेलले चितवन मेडिकल कलेज, नेपाल क्यान्सर अस्पतालजस्ता संस्थाहरूको पनि व्यवस्थापकीय जिम्मेवारी निर्वाह गरिसकेका छन् । साथै, वित्त तथा व्यवस्थापन परामर्शदाताको रूपमा देश तथा विदेशका विभिन्न कम्पनीलाई सेवा प्रदान गरेको पनि बताइएको छ । साथै, पौडेल ब्लु चिप्स भेन्चर क्यापिटल र ब्लु स्काइ इनर्जी लिमिटेडका अध्यक्ष रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *