नेपाल शिक्षक महासङ्घले बुझायो नेकपा एमालेलाई ध्यानाकर्षण पत्र

Thankot Times

थानकोट ।

नेपाल शिक्षक महासङ्घले नेकपा एमालेको कार्यालयमा धर्ना दिँदै ध्यानाकर्षण पत्र बुझाएको छ ।

विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासङ्घले बिहीबार ललितपुरको च्यासलस्थित एमाले कार्यालयमा धर्ना दिनुका साथै एमाले महासचिव शंकर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

सरकारले आफूहरूसँग गरेको सहमति पूर्ण रुपमा सम्बोधन हुन नसकेकाले सच्याउन दबाब दिन भन्दै शिक्षकहरूले राजनीतिक दलका कार्यालयमा धर्ना दिएका हुन् ।

शिक्षकहरूको ध्यानाकर्षण पत्र बुझ्दै एमाले महासचिव पोखरेलले शिक्षा व्यवस्थालाई व्यवस्थित गर्न तयार गरिएको शिक्षा सम्बन्धी विधेयकमा शिक्षकहरूको मुद्दा समावेश गर्न एमालेले सहजीकरण गरेको बताए । उनले यसअघि शिक्षक र सरकारबिच भएको सहमति कार्यान्वयनप्रति एमाले प्रतिबद्ध रहेको समेत उल्लेख गरे ।

पोखरेलले सरकारसँग भएको सहमतिहरू कार्यान्वयन गर्न छुटेको भए राष्ट्रियसभाका माध्यमबाट भए पनि ती विषयहरूलाई समावेश गर्न पहल गर्ने आश्वासन समेत दिए ।

त्यस्तै महासङ्घकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले महासङ्घसँग भएको ९ बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेकाले पुनः आन्दोलन गर्नुपरेको बताइन् ।

प्रतिनिधिसभा पेस भएको विधेयकले शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै विषयहरू अझै पनि सम्बोधन हुन नसकेको उनले बताइन् ।

उनले विधेयकमा रहेका असहमतिका बुँदाहरूलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट सम्बोधन गर्न राजनीतिक दलहरूले सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

महासङ्घले शुक्रबार माओवादी केन्द्रको कार्यालयमा धर्ना दिने जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *