चन्द्रागिरि वडा नं. १३ पुरानो नैकाप आजबाट बालश्रम मुक्त वडा घोषणा हुँदै
थानकोट ।
चन्द्रागिरि नगरपालिका- १३ पुरानो नैकाप आज शुक्रबार बालश्रममुक्त वडा घोषणा हुने कार्यक्रम छ ।
मध्यान्ह एक समारोहकाबीच सो वडालाई बालश्रममुक्त वडा घोषणा गर्ने कार्यक्रम तय भएको वडाध्यक्ष श्रीकृष्ण खत्रीले जानकारी दिए ।
बालबालिकालाई श्रममा लगाउँदा उनीहरूको मौलिक हनन् हुने भएकाले अब आइन्दा कसैले पनि बालबालिकालाई श्रमजन्य काममा लगाउन नपाइने शपथ वडाका बासिन्दाले शपथ ख्वाएर वडा बालश्रम मुक्त घोषणा हुन लागेको हो ।
घोषणा सभा अघि र्याली निक्लने र सो र्यालीले वडा परिक्रमा गरेपछि नैकाप भञ्ज्याङस्थित वडा कार्यालय क्षेत्रमा एक समारोहका बीच वडालाई बालश्रममुक्त वडा घोषणा गरिनेछ ।
सो क्रममा स्थानीय शैक्षिक संस्थाका शिक्षक तथा विद्यार्थीहरू, संघसंस्थाका प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू तथा स्थानीय बासीहरूको उपस्थिति रहने बताइएको छ ।
चन्द्रागिरि नगरका विभिन्न १२ वटा वडा बालश्रम मुक्त वडा घोषणा भइसकेका छन् ।
चन्द्रागिरि नगरका वडा नं. १ दहचोक र वडा नं. १२ बलम्बु यसपछि बालश्रम मुक्त वडा घोषणा हुने क्रममा छन् ।












