चन्द्रागिरिमा निरन्तर वर्षा, दिउँसो पनि वर्षा रहने सम्भावना
थानकोट ।
देशका केही स्थानमा आइतबार (भदौ १५) बिहान ठूलो पानी परेको छ ।
केही समयका निम्ति ‘मध्यम’देखि ‘भारी’ वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो तीन घण्टा (आइतबार बिहान ५ः१० बजेसम्म)मा वाग्मती प्रदेशका सिन्धुपाल्चोक, काठमाडौंलगायत क्षेत्रमा ठूलो पानी परेको छ ।
गण्डकी प्रदेशका लमजुङ, गोरखालगायत क्षेत्रमा पनि ठूलो पानी परेको छ । सुदूरपश्चिम प्रदेशका दार्चुला, डोटीलगायत क्षेत्रमा समेत केही समयका निम्ति मध्यमदेखि भारी वर्षा भएको महाशाखाले जनाएको छ ।
पानी पर्ने क्रम अझै जारी छ ।
वाग्मती प्रदेशका भूभागमा वर्षा गराउने बादल विकास भइरहेको महाशाखाले जनाएको छ ।
“वर्षाको क्रम अझै जारी रहेको र विशेष गरी वाग्मती प्रदेशका भूभागहरूमा अझै मेघगर्जनसहित वर्षा गराउने बादल विकसित भइरहेकोले मौसमको जानकारी लिएर मात्र योजना बनाउनुहोला,” महाशाखाले भनेको छ ।












