नेपाली बजारमा सुनचाँदीको मूल्य हालसम्मकै उच्च
थानकोट ।
कारोबार हुने यस साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रकर्ड बनाएको छ ।
आज सुनको भाउ प्रतितोला दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि, भदौ १३ गते सुन प्रतितोला दुई लाख ६०० रुपैयाँमा कारोबार भएर नयाँ इतिहास बनेको थियो । शुक्रबारको तुलनामा आज सुन प्रतितोला तीन हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला दुई हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्यमा पनि नयाँ कीर्तिमान कायम भएको छ । चाँदीको मूल्य एकैदिन तोलामा ६५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन चाँदीको मूल्य तोलाको दुई हजार ४२५ रुपैयाँ कायम छ । यो हालसम्मकै उच्च मूल्य हो ।
यही भदौ १० र १३ गते चाँदी प्रतितोला दुई हजार ३६० रुपैयाँमा कारोबार भएको थियो । त्यो यसअघिको उच्च मूल्य थियो ।












