काठमाडौं प्रहरीको ट्रयाक रेकर्ड : थानकोटसहित विभिन्न स्थानमा २५ वटा हत्या, २५ वटै समाधान !

Thankot Times

थानकोट।

राजधानीमा अपराध बढेको भन्ने जनधारणा बीच काठमाडौं प्रहरीले गत आर्थिक वर्षमा हत्या अनुसन्धानको क्षेत्रमा अभूतपूर्व सफलता हासिल गरेको छ।

आ.व. २०८१/८२ मा दर्ता भएका २५ वटै हत्या प्रकरण सुल्झाउन सफल भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन्।

भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको नेतृत्वमा महाराजगञ्जदेखि थानकोट, कालिमाटी, बौद्ध, बानेश्वर, स्वयम्भू, लैनचौर, जनसेवा, सिंहदरबार, गौशाला र कीर्तिपुरसम्मका प्रहरी वृत्तहरूले दिनरात खटेर अनुसन्धान अघि बढाए। घटनाको सूचना आउनासाथ प्रहरी टोली परिचालित भयो, घटनास्थल सुरक्षित पारियो, प्रारम्भिक मुचुल्का तयार गरियो र सीसीटीभी तथा मोबाइल डाटा तुरुन्तै संकलन गरियो। सुरुवाती घण्टामै सूचनाको आधार मजबुत बनाएपछि अनुसन्धानलाई सही दिशामा लैजान सजिलो भएको प्रहरीको भनाइ छ।

अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरीले आधुनिक प्रविधिको भरपूर उपयोग गर्‍यो।

टाइमलाइन म्यापिङ, कल डिटेल रेकर्ड, लोकेसन डेटा र उपकरण–फोरेन्सिक जस्ता विधि नियमित रूपमा प्रयोग हुँदा प्रत्यक्ष साक्षी कमजोर भएका घटनाहरूमा पनि ठोस प्रमाण जुटाउन सजिलो भयो। थानकोटमा हराएकी युवती लो–बेडमुनि मृत भेटिएको घटनामा मोबाइल फोन नै अभियुक्तविरुद्ध निर्णायक प्रमाण बनेको थियो।

कालिमाटीमा पुरानो रिसइबीका कारण भएको झडपमा १६ जना एकै पटक पक्राउ परे भने बौद्ध–गोकर्णेश्वर क्षेत्रमा सडकमा ढलेको र वर्कसपभित्र गाडिएको शव दुबैमा डिजिटल ट्रेसिङले बाटो देखायो।

कीर्तिपुरमा घरेलु हिंसाबाट भएको हत्या प्रकरणमा ‘चेन अफ कस्टडी’लाई कडाइका साथ पालना गर्दा मुद्दा अदालतमा बलियो बनेर पेश गरियो।

अनुसन्धानमा समुदायको सहयोग पनि निकै महत्वपूर्ण रह्यो। स्थानीय बासिन्दा, व्यापारी र टोल विकास समितिबाट प्राप्त सूचनाले प्रहरीलाई सहयोग पुर्‍यायो। पीडित परिवारसँग संवेदनशील व्यवहार, मनोसामाजिक परामर्श र सुराकीको पहिचान गोप्य राख्दा प्रहरीप्रति विश्वास अझै बढ्यो।

यी घटनामध्ये धेरैजसोका अभियुक्त पुर्पक्षका लागि थुनामा पठाइएका छन्, केहीलाई अदालतले धरौटी वा तारेख दिएको छ भने नाबालक संलग्न प्रकरणमा कानुनअनुसार बालसुधार गृह पठाइएको छ। “समयमै प्रहरीलाई खबर दिनुहोस्, न्याय पाउन ढिला हुँदैन,” भन्ने सन्देश पनि प्रहरीले यसमार्फत जनतासम्म पुर्‍याएको छ।

२५ वटै हत्या प्रकरण सुल्झाएर शतप्रतिशत सफलता हात पारेको यस उपलब्धिले काठमाडौं प्रहरीलाई मात्र होइन, देशभरका सुरक्षाकर्मीलाई पनि प्रेरणा दिएको छ। प्रमाण–आधारित अनुसन्धान, पीडित–मैत्री दृष्टिकोण र छरितो समन्वयलाई निरन्तरता दिन सके, अपराधी कति योजनाबद्ध भए पनि कानुनी जालो फुस्कन नसक्ने राजधानी प्रहरीले प्रमाणित गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *