राप्रपाले प्रारम्भिक निर्वाचन प्रणाली अवलम्बन गरेपछि रास्वपाले दियो यस्तो प्रतिक्रिया
थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देहीको क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि नवीन अभ्यासको रूपमा प्रारम्भिक निर्वाचन प्रणाली अवलम्बन गर्ने निर्णयको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले स्वागत गरेको छ ।
आन्तरिक प्रारम्भिक निर्वाचन गर्ने दिशामा अघि बढेको भन्दै मंगलबार रास्वपाले सामाजिक सञ्जाल फेसबुकमार्फत राप्रपालाई स्याबासी दिएको हो ।
रास्वपाले प्रारम्भिक निर्वाचन प्रणाली अवलम्बन गर्दै आएकाे छ ।
राप्रपाको आज बसेको बैठकले रुपन्देही जिल्ला कार्यसमितिबाट सिफारिस भइआएका आकाङ्क्षी उम्मेदवारहरू मध्येबाट प्रजातान्त्रिक ढङ्गबाट उम्मेदवार छनौट गर्न मतदाताहरूबाट आन्तरिक प्रारम्भिक निर्वाचन गराइ उच्चतम मत प्राप्त गर्ने आकाङ्क्षी उम्मेदवारलाई उपनिर्वाचनको उम्मेदवार छनौट गर्ने निर्णय गरेको थियो ।
आगामी कात्तिक १७ गते रुपन्देहीको क्षेत्र नम्बर ३ मा उपनिर्वाचन हुँदै छ ।













