एएफसी यू-२३ एसियन कप छनोटमा नेपालको खराब सुरुवात, ताजिकिस्तान ४-० ले विजयी
थानकोट ।
एएफसी यू–२३ एसियन कप क्वालिफायरमा नेपालले घरेलु टिम ताजिकिस्तानविरुद्ध ४–० को फराकिलो हार बेहोरेको छ ।
बुधबार राति ताजिकिस्तानको सेन्ट्रल रिपब्लिकन रंगशालामा सम्पन्न खेलमा नेपालले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल बेहोरेको हो ।
घरेलु टिमका मोहम्मद अली अजिजबोउभले दुई गोल गरे । यस्तै, रहमतजोदा रहमतसोह र सारिपोभ डालेरले समान एक गोल गरे ।
खेलको ३९औँ मिनेटमा अजिजबोउभको गोलमा ताजिकिस्तानले अग्रता बनाएको थियो । जसलाई ५८औँ मिनेटमा उनैले दोब्बर बनाए । खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी हुँदा रहमतसोहले घरेलु टिमबाट तेस्रो गोल गरे ।
यस्तै, इन्जुरी सयममा डालेरले गोल गरेपछि ताजिकिस्तानले सहज जित पक्का गरेको हो ।
प्रतियोगिताको समूह ‘के’मा रहेको नेपालको यो पहिलो खेल हो । नेपालको समूहमा ताजिकिस्तानसँगै सिरिया र फिलिपिन्स छन् ।
आजको खेलमा नेपाली टिम नियमित कप्तान आयुश घलानबिनै मैदान उत्रिएको थियो । एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिताअन्तर्गत बंगलादेशसँगको खेलमा रातो कार्डको पाएका कारण आयुश बुधबारको खेलका निम्ति निलम्बित थिए ।
प्रतियोगितामा समूहको शीर्ष स्थानमा रहने टोलीले आगामी वर्ष साउदी अरेबियामा हुने यू–२३ एसियन कपको सातौँ संस्करणमा स्थान बनाउनेछ ।
यस्तै, कुल ११ समूहबाट चार उत्कृष्ट उपविजेता टोलीले साउदी अरेबियाको टिकट काट्नेछन् ।
तस्बिरः एन्फा













