नेपाल र बङ्गलादेशबीच हुने मैत्रीपूर्ण खेलको तयारी पूरा, पहिलो खेल शनिबार, दोश्रो खेल मंगलबार
थानकोट ।
नेपाल र बङ्गलादेशबीच हुने मैत्रीपूर्ण खेलको तयारी पूरा भएको छ ।
भोलि (भदाै २१) र आउँदो मङ्गलबार (भदाै२४) हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि सबै तयारी पूरा भएको एन्फाका प्रवक्ता सुरेश शाहले बिहीबार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगिताका दुई खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुकी साढे ५ बजे शुरु हुनेछ ।
खेलका लागि बङ्गलादेशको राष्ट्रिय फुटबल टोली बुधबार नै नेपाल आइसकेको छ ।
बङ्गलादेशी टोलीलाई अभ्यासका लागि भद्रकालीमा रहेको नेपाली सेनाको खेल मैदान र ललितपुरको च्यासलमा रहेको च्यासल रङ्गशालाको मैदानको व्यवस्था गरिएको एन्फाले जनाएको छ ।
खेलका लागि भिआइपी प्याराफिटतर्फ एक हजार र साधारण प्याराफिटर्फ पाँच सय रुपैयाँ टिकट दर निर्धारण गरिएको छ । दुवै खेलको समग्र विजेतलाई ट्रफी र पदक प्रदान गरिने एन्फाले जनाएको छ ।
यदी दुवै खेलबाट नतिजा नआएमा दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता तय हुनेछ ।
प्रतियोगिता सञ्चालनका लागि झन्डै एक करोड २७ लाख ५८ हजार एक सय ६८ रुपैयाँ खर्च लाग्ने एन्फाले जनाएको छ ।
यसैबीच अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले दशरथ रङ्गशाला सुरक्षित रहेको र अन्तर्राष्ट्रिय खेल खेलाउने स्तरको रहेको बताएको छ ।
एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले एएफसीको कम्पिटसन डिपार्टमेन्टले तय गरेको नियम पूरा नहुँदा दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल हुन नसकेको बताए ।













