बेलायतमा अविश्वसनीय रुपमा राजनीतिक उलटफेर

Thankot Times

थानकोट ।

बेलायतमा शुक्रबार ठूलो राजनीतिक फेरबदल भएको छ । प्रधानमन्त्री किअर स्टार्मरले आफ्नो क्याबिनेटमा हेरफेर गर्दै विदेशमन्त्री डेभिड लामीलाई उपप्रधानमन्त्री नियुक्त गरेका छन् ।

यो कदम तत्कालीन उपप्रधानमन्त्री एन्जेला रेनरले कर कम तिरेको विषयमा आफ्नो जिम्मेवारी स्वीकार गर्दै राजीनामा दिएपछि चालिएको हो ।

आवास मन्त्रीसमेत रहेकी एन्जेला रेनरले हालै इंग्ल्यान्डको दक्षिणी तटमा नयाँ घर किनेकी थिइन् । अनुसन्धानमा उनले यस खरिदमा पूर्ण कर नतिरेको पाइएको थियो । यसपछि विपक्षी र सञ्चारमाध्यमको दबाबमा उनले आफ्नो पदबाट राजीनामा दिइन् ।

५३ वर्षीय डेभिड लामी अब उपप्रधानमन्त्रीको साथसाथै न्यायमन्त्रीको जिम्मेवारी पनि सम्हाल्नेछन् । लामी बेलायती राजनीतिमा लामो समयदेखि सक्रिय छन् र लेबर पार्टीमा उनको हैसियत निकै उच्च मानिन्छ ।

यस ठूलो क्याबिनेट विस्तारमा अन्य महत्त्वपूर्ण मन्त्रालयहरूमा पनि परिवर्तन गरिएको छ । पूर्वगृहमन्त्री यभेट कुपर अब विदेश मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछिन् ।

उनले डेभिड लामीको ठाउँ लिनेछिन् र विदेश, राष्ट्रमण्डल र विकास कार्यालयको नयाँ प्रमुख बन्नेछिन् । त्यसैगरी, बेलायती–पाकिस्तानी मूलकी शबाना महमुद लाई पदोन्नति गरेर गृहमन्त्री बनाइएको छ । उनी पहिले न्याय मन्त्रालयमा कार्यरत थिइन् ।

एन्जेला रेनरको राजीनामाले सरकारको साखमा असर पर्ने आशंका गरिएको थियो । यस्तो अवस्थामा सरकारको छवि र कार्यसम्पादनमा नकारात्मक असर नपरोस् भन्दै प्रधानमन्त्री स्टार्मरले तुरुन्तै कदम चाल्दै टोलीमा परिवर्तन गरेका हुन् । विश्लेषकहरू यो फेरबदल सरकारको प्राथमिकता र नीतिगत दिशामा पनि परिवर्तनको संकेत भएको ठान्छन् ।

एन्जेला रेनर लेबर पार्टीकी लोकप्रिय नेत्री हुन् । उनले गरिब परिवारबाट उठेर राजनीतिमा उच्च स्थान हासिल गरेकी थिइन् । यद्यपि, हालै नयाँ घर खरिदमा भएको कर विवाद उनको राजनीतिक करियरका लागि चुनौती बनेको बताइएको छ । रेनरले यो गल्ती जानीजानी नभएको र उनी सधैँ जनताप्रति जवाफदेही रहने बताएकी छन् ।

अल्जजिराबाट ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *