देशलाई हेपेको सहन्नँ: प्रधानमन्त्री ओली
थानकोट ।
नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जतिसुकै हेपिए पनि देशलाई हेपेको नसहने बताएका छन् । दोस्रो विधान महाधिवेशनको अन्तिम दिन अध्यक्ष ओलीले आइतबार कार्यकर्तालाई सम्बोधन गर्दै राष्ट्रियताप्रतिको अडानलाई पुनः दोहोर्याए ।
“मलाई जति सुकै हेपियोस म हेपिन तयार छु र सहन्छु । तर देशलाई हेपेको सहन्नँ । देशलाई हेप्न, होच्याउन पाइँदैन । हाम्रो स्वाभिमान माथि ठेस पुर्याउन पाइँदैन,” अध्यक्ष ओलीले भने ।
समसामयिक विषयमा प्रतिनिधिहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालबारे धारणा राख्दै भने, “हामी वाक स्वतन्त्राताका लागि बलिदान दिएर आएका हौं । त्यसैले हाम्रो पार्टी सामाजिक सञ्जालमाथि असहिष्णु भए छ कि ? भन्ने कसैमा भ्रम नपरोस् । सामाजिक सञ्जाललाई कानुन बमोजिम चल्न, दर्ता हुन र कर तिर्न एक वर्षदेखि भन्दै आएका हौं । तर अटेरी गरिरहेका छन् ।”
सामाजिक सञ्जाल बन्दलाई तथाकथित बुद्धिजीवीहरुले सरकारद्वारा वाक स्वतन्त्रता कुण्ठित गरियो भनेर भ्रम सृजना गरेकोमा अध्यक्ष ओलीले आश्चार्य व्यक्त गरे ।
“मुलुकको स्वाधिनता र राष्ट्रियताका लागि सरकारले नेपालमा सामाजिक सञ्जाल दर्ता हुन भनेर एक वर्षदेखि भनिरहको छ । कानुनको दायरामा आउन भन्दा नआएछि सञ्चालनमा रोक लगाइएको हो । तर विरोध गर्ने केही बुद्धिजीवीहरुले वाक स्वतन्त्रताको अर्थ बुझेका छैनन्,” उनले भने ।
कतिपयले ‘जेनजी पुस्ता’लाई सामाजिक सञ्जाल बन्दको विरुद्ध विद्रोह गराउने भनिए पनि ‘जेनजी पुस्ता’ हेपाहा प्रबृत्तिको विरुद्धमा रहेको उनले बताए । अध्यक्ष ओलीले भने, “कतिपयले जेनजी पुस्तालाई विद्रोह गराउने कुरा पनि गर्छन् । तर जेनजी पुस्ता देशलाई माया गर्छ । देशको कानुन बझ्छ । जेनजी पुस्ता बेथिति र हेपाहा प्रवृत्तिको विरोधी हो ।”
फाइल फोटो












