नैकापका एक युवाले क्यानडा पठाइदिने भन्दै १५ लाख ३० हजार रुपैयाँ लिएपछि….
थानकोट ।
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्युठानको नौबहिनी गाउँपालिकाका विशाल बुढामगर, झापाको बुद्धशान्ति गाउँपालिकाका निकेश ढुंगाना र महोत्तरीको गौशाला नगरपालिकाका योगेन्द्रसिंह दनुवार छन् ।
विशालले क्यानडा पठाइदिने भन्दै दुईजनाबाट १५ लाख ३० हजार रुपैयाँ बुझेका थिए । निकेशले यूके पठाइदिने भन्दै एकजनाबाट ४१ लाख रुपैयाँ लिएका थिए । योगेन्द्रले अल्बानिया पठाइदिने भन्दै एकजनाबाट नौ लाख ३४ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका आरोप छ ।
उनीहरू काठमाडौं र ललितपुरका फरक स्थानमा बस्दै आएका थिए ।
विशाललाई बिहीबार (भदौ १८) काठमाडौंको चन्द्रागिरि नगरपालिका–१४ बाट पक्राउ गरिएको थियो ।
निकेशलाई शुक्रबार (भदौ १९) ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको हो । योगेन्द्रलाई पनि शुक्रबारै काठमाडौं महानगरपालिका१२ बाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
आवश्यक अनुसन्धान र कारबाहीका निम्ति उनीहरूलाई वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।












