जेनजीले सोमबार काठमाडाैंमा गर्ने प्रदर्शनमा रास्वपाकाे समर्थन
थानकोट ।
जेनजीले सोमबार काठमाडौँको माइतीघरमा प्रदर्शन गर्दैछ ।
भ्रष्टाचार विरुद्ध र सामाजिक सञ्जालमाथि प्रतिबन्धको विषयलाई लिएर जेनजीले प्रदर्शन गर्न लागेको हो ।
उक्त प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन जनाएको छ ।
जेनजीले स्वस्फूर्त प्रदर्शनबारे जानकारी पाएर उत्साहित भएका छौँ ।
सरकारको शृङ्खलाबद्ध कुशासन र राज्यशक्तिको दुरुपयोग, स्वतन्त्रता र मौलिक हक हननका विरुद्ध हामी सदनदेखि सडकमा आवाज निरन्तर उठाइरहेकै छौँ। यो परिप्रेक्षमा जेनजी समेत सशक्त ढङ्गले सडकमा आउन आँट्नु उल्लेख्य राजनीतिक परिघटना हो,रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
सार्वजनिक मामिलामा सबैको लोकतान्त्रिक संस्कारसंगत प्रत्यक्ष हस्तक्षेप रहोस् भन्ने आफूहरूको मान्यता रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।













