हँसिया हथौडाको रङ फेर्दै सकियो नेकपा एमालेको विधान महाधिवेशन
थानकोट ।
नेकपा एमाले दोस्रो विधान महाधिवेशनमा सम्पन्न भएको छ ।
शुक्रबारबाट ललितपुरको गोदवरीमा शुक्रबार सुरु भएको महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ ।
आइतबार अध्यक्ष ओलीले तीनवटै प्रस्तावलाई निर्णायर्थ पेस गरेपछि प्रतिनिधिहरूले तालिको ध्वनिका साथ प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरिएको थियो ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ बर्से इतिहासमा विश्व कम्युनिस्ट पार्टीहरूको लोगो हँसिया हथौडाको रंग एमालेले फेरेको छ । सेतो रंग प्रयोग हुँदै आएकोमा अब एमालेले रातो रंगमा सुनौलो कलरको हँसिया हथौडा अंकित हुनेछ ।
महाधिवेशनले पारित एमाले विधानमा अवको राष्ट्रिय महाधिवेशनलपछि पार्टी केन्द्रीय किमिटी २ सय ५१ सदस्यीय हुनेछ । विधान संशोधनमार्फत एमालेले ३ सय १ सदस्यीय कमिटीलाई घटाएर १५ पदाधिकारीसहित २ सय ५१ कायम गरेको हो । त्यस्तै १९ सदस्यीय पदाधिकारीलाई १५ जनामा सीमित गरेको छ ।
नयाँ विधानमा वरिष्ठ उपाध्यक्षको व्यवस्थालाई हटाइएको छ भने ६ उपाध्यक्षको संख्यालाई घटाएर ३ मा झारिएको छ । जसअनुसार अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिव ७ सहित १५ जना पदाधिकारी रहनेछन् । एमालेले पदाधिकारीमा महिला एक जना अनिवार्य गरेको छ ।
एमालेले स्थायी कमिटी र पोलिटब्युरो सदस्यको संख्या पनि घटाएको छ ।
धारा १७ (२) को ४५ सदस्यीय स्थायी कमिटीलाई घटाएर पार्टीका १५ जना पदाधिकारीलाई मात्र स्थायी कमिटीका रूपमा राख्ने प्रस्ताव पारित भएको छ भने ९९ सदस्यीय पोलिटब्युरो संख्या घटाएर बढीमा एकतिहाइ रहने गरी निर्वाचनमार्फत नै पोलिटब्युरो कमिटी गठन गर्ने भएको छ ।
सबै प्रदेश कमिटीको पदाधिकारीमा एक जना महिलालाई अनिवार्य व्यवस्था गरेको एमालेले पालिकामा ७५, उपमहानगर ८५, महानगर १०१ सदस्यीय कमिटी गठन गर्ने भएको छ । अब एमालेका वडा कमिटी ३१ देखि ५१, टोल कमिटी २१ सदस्यीय हुनेछन् ।
पार्टीका बैठकको समयमा पनि एमालेले हेरफेर गरेको छ । धारा ७० मा केन्द्रीय कमिटी बैठक ६ महिनामा, प्रदेश कमिटी ४ महिना, जिल्ला कमिटी ३ महिना, पालिका कमिटी २ महिना र वडा कमिटी एक महिनामा बस्ने गरी समय निर्धारण गरिएको छ ।
रातोपाटीबाट ।












