स्पोर्ट्स अवार्डः प्रशिक्षकमा दिपक महर्जन, कविराज नेगी लामासहित ५ जनाको मनोनयन
थानकोट ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ को शनिबार सार्वजनिक गरिएको चार विधाको मनोनयनमा क्रिकेट र करातेले वर्चस्व राखेको छ । त्यसपछि तेस्रोमा खो खो खेल छ ।
नेपाली खेलकुदमा निरन्तर आयोजना भएको यस स्पोर्ट्स अवार्डमा वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिएको हो । २२ औं संस्करणको यस अवार्ड यही भदौ २९ गते पोखरामा आयोजना गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ ।
चार विधामा उत्कृष्ट ५–५ जनाको मनोनयन गरिएको हो । त्यसमा क्रिकेटबाट पुरुषमा दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, युवामा पूजा महतो र प्रशिक्षकमा महेश रिजाल परेका छन् । त्यस्तै करातेबाट महिलामा एरिका गुरुङ र एलिसा रास्कोटी मगर, युवामा अञ्जली महर्जन र प्रशिक्षकमा कुशल श्रेष्ठ मनोनयनमा परेका छन् । एरिका र कुशल अघिल्लो संस्करणका विजेता पनि हुन् ।
खो खो विश्वकपमा उपविजेता बनेको नेपाली पुरुष र महिला टोलीबाट जनक चन्द पुरुष, मानमती धामी महिला तथा लक्ष्मीनारायण वैद्य प्रशिक्षकको मनोनयनमा छन् ।
पुरुषतर्फ दक्षिण एसियाली छनोट जितेर पेरिस ओलम्पिक खेलेका टेबलटेनिसका स्यान्टु श्रेष्ठ र तेस्रो थाउलु वर्ल्डकपमा कांस्य जितेका उसुका विजय सिंजाली पनि मनोनयनमा छन् । विजय पिपल्स च्वाइसका पनि प्रतिस्पर्धी हुन् ।
एसीसी प्रिमियर कपमा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गर्दै कीर्तिमान बनाएका दीपेन्द्र टी–२० विश्वकपमा नेपालका लागि सर्वाधिक ६ विकेट लिने खेलाडी हुन् । एनपीएलमा सर्वोत्कृष्ट खेलाडी बनेका उनले विश्वकपमा दक्षिण अफ्रिकासँग ३ र बंगलादेशसँग २ विकेट लिएका थिए । कुशलले टी–२० विश्वकपमा दक्षिण अफ्रिकासँग ४ विकेट लिनुका साथै वर्ष २०८१ मा अलराउन्ड प्रदर्शन गर्नेक्रममा ४८१ रन र २० विकेट लिएका छन् । जनक भने खो खो विश्वकपमा नेपालका उपकप्तान थिए । उनी दुई खेलमा प्लेयर अफ द म्याच बन्दै नेपाललाई फाइनलसम्म पुर्याएका थिए ।
महिलातर्फ गत वर्ष २० औं एकेएफ सिनियर कराते च्याम्पियनसिपमा ऐतिहासिक रजत जितेकी एरिका र १६ औं एसिया प्यासिफिक करातेमा रजत र कांस्य जितेकी एलिसाको प्रतिस्पर्धीमा फुटबलकी रेखा पौडेल, भलिबलकी सलिना श्रेष्ठ र खो खोकी मानमती छन् ।
साफ च्याम्पियनसिपमा ७ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेकी रेखा एएफसी महिला च्याम्पियन्स लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन् । लिबेरो सलिनाको भूमिका नेपाली टोली काभा नेसन्स कपमा उपविजेता र फ्रेन्चाइज लिगमा ललितपुर क्विन्स उपविजेता बन्दा उच्च रहेको थियो । खो खो विश्वकपमा नेपाल उपविजेता हुँदा मानमती चार खेलमा प्लेयर अफ द म्याच हुनुका साथै सेमिफाइनलमा बेस्ट अट्याकर र फाइनलमा बेस्ट डिफेन्डर चुनिएकी थिइन् ।
मञ्चका सचिव अनिल मल्ल ठकुरीको संयोजकत्वमा निरञ्जन राजवंशी, प्रजित शाक्य, हिमेशरत्न वज्राचार्य र विराट रायमाझी रहेको ५ सदस्यीय छनोट समितिले खेलाडी छानेको हो । २०८१ सालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्राप्त गरेको सफलता र उत्कृष्ट प्रदर्शनका आधारमा मनोनयन गरिएको जनाइएको छ ।
युवा खेलाडीमा क्रिकेटकी पूजा र करातेकी अञ्जलीसहित बक्सिङकी स्वस्तिका तिरुवा, एथलेटिक्सका अजय बिक र फुटबलका समीर तामाङ छन् । पूजाले आफ्नो कप्तानीमा नेपाललाई आईसीसी यू–१९ महिला विश्वकपमा छनोटमा पुर्याएकी थिइन् । उनले यू–१९ एसिया कप छनोटमा शतक बनाउनुका साथै सर्वाधिक १० विकेटसमेत लिएकी थिइन् । अञ्जलीले एसिया प्यासिफिक र दक्षिण एसियाली यू–२१ कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । अजयले दक्षिण एसियाली जुनियर एथलेटिक्समा कांस्य र साफ क्रसकन्ट्री च्याम्पियनसिपको टिम इभेन्टमा कांस्य पदक जितेका थिए । स्वस्तिका आईएसएफ जिम्न्यासाइडमा स्वर्ण जित्ने बक्सर हुन् भने समीर एएफसी यू–२० च्याम्पियनसिपमा चाइनिज ताइपेइविरुद्ध ह्याट्रिक गर्ने खेलाडी हुन् ।
प्रशिक्षकमा करातेका कुशल, क्रिकेटका महेश, खो खोका लक्ष्मीनारायणबाहेक पारा तेक्वान्दोका कविराज नेगी लामा र बक्सिङका दीपक महर्जन उत्कृष्ट ५ भित्र परेका छन् । करातेका एरिका, एलिसा र अञ्जलीको सफलतासँग जोडिएका प्रशिक्षक हुन् कुशल । महेश नेपाललाई पहिलो पटक यू–१९ महिला विश्वकपमा पुग्ने टोलीका प्रशिक्षक थिए । लक्ष्मीनारायण नेपाल खो खो विश्वकपमा उपविजेता बन्दाका प्रशिक्षक हुन् । कविराज पेरिस पारालिम्पिकमा कांस्य दिलाउने प्रशिक्षक हुँदा दीपक जिम्न्यासाइडमा नेपाली खेलाडीलाई २ स्वर्ण र २ कांस्य जिताउने प्रशिक्षक हुन् ।
पारालिम्पिककी कांस्य विजेता पलेशा गोवर्धन मनोनयनमा किन नपरेको भन्ने प्रश्नमा छनोट समितिका सदस्य निरञ्जन राजवंशीले त्यो सफलतालाई फरक ढंगले सम्बोधन गरिने र त्यो कार्यक्रमकै दिनमात्र थाहा हुने स्पष्ट पारे । १० विधामा प्रदान गरिने अवार्डको विजेता कार्यक्रमकै दिन भदौ २९ मा घोषणा हुनेछ ।
उक्त अवार्ड कार्यक्रमका लागि अन्तर्राष्ट्रिय खेलकुद पत्रकारहरूको संस्था एआईपीएसका अध्यक्ष जियानी मेर्लो पनि नेपाल आउने छन् । मेर्लो यसअघि सन् २००६ मा अवार्डकै लागि नेपाल आएका थिए ।
यसअघि सार्वजनिक पिपल्स च्वाइस विधाका प्रतिस्पर्धी विजय सिन्जाली (उसु), पूजा महतो (क्रिकेट), हिमाल सुनारी (भलिबल), रेखा पौडेल (फुटबल) र इभाना थापा (टेबलटेनिस) को भोटिङ तीव्र भइरहेको जनाइएको छ । डिजिटल वालेट खल्ती वाई आइएमईबाट भोटिङ भइरहेको छ ।












