स्थानीयले जोगाए चन्द्रागिरि नगरपालिका भवन, १५ मध्ये १४ वडा कार्यालयको अवस्था सामान्य

Thankot Times

थानकोट ।

यही भदाै २३ गते सोमबार काठमाडाैं लगायत देशभर युवाहरूले गरेको प्रदर्शनमा व्यापक मानवीय क्षति भएपछि भदाै २४ गते भएको तोडफोड, आगलागी र लुटपाटका श्रृखंलाको विवरण सार्वजनिक हुन थालेका छन् । 

सो दिन राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत लगायत कैयन सरकारी, निजी संरचनामा आगलागी भए । सो क्रममा स्थानीय निकाय मातहतका संरचनाहरूमा समेत व्यापक क्षति पुगेको छ, क्षतिको विवरण संकलनको जारी रहेको बताइएको छ ।

सो दिन एक समुहले बलम्बुस्थित चन्द्रागिरि नगरको कार्यालयमा समेत तोडफोड र आगजनी गरेको छ ।

यद्यपी स्थानीयको प्रतिकारपछि भवनमा उल्लेख्य क्षति भने हुन नपाएको भिडियोहरू सामाजिक सञ्जालमा देखिएका छन् । सो समुहले नगरपालिकाको कार्यालय हातामा रहेका दमकलसहित करिब एक दर्जन सानाठूला चारपाँग्रे सवारी साधनमा तोडफोड गरेका छन् । केही मोटरसाइकल पार्किङ क्षेत्रमै जलाइएका छन् । नगरको पहिलो तल्लामा रहेका केही फर्निचर तथा विद्युतीय उपकरणमा क्षति पुगेको चन्द्रागिरि नगरपालिकाले जनाएको छ । यस्तै, नगरप्रहरी सेवा इकाईको कार्यालयमा तोडफोड भएको छ । 

चन्द्रागिरि नगरपालिका वडा नं. २ को कार्यालय बाँडभञ्ज्याङमा तोडफोड भएको छ । तोडफोडपछि कार्यालयका फर्निचर तथा झ्यालढोकामा क्षति पुगेको छ । सो को मूल्यांकन भने हुन बाँकी रहेको छ ।

यस्तै, चन्द्रागिरि वडा नं. ९ मच्छेगाउँको भवनमा झ्यालका केही सिसा फुटेका छन् । अन्य वडा कार्यालयहरूको अवस्था सामान्य छ । 

चन्द्रागिरि नगरमा रहेका ठूला प्रहरी कार्यालयहरूले गत मंगलबार अपुरणीय क्षति व्यहोरेका छन् ।

भदाै १६ मा उद्घाटन गरिएको प्रहरी वृत्त थानकोटको भवनमा आगजनी चपेटामा पर्दा क्षतिग्रस्त बनेको छ, कार्यालयमा रहेका सबै सामाग्री जलेका छन् । यद्यपी चेकपोष्टस्थित सो कार्यालय आगजनीबाट जोगाउन स्थानीयले भगिरथ प्रयास गरेका थिए । प्रहरी प्रभाग नागढुङ्गाको कार्यालय तथा ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाको भवन पनि आगलागीको चपेटामा पर्दा भवनमा रहेका सबै संरचना नष्ट भएका छन् । यता मातातिर्थस्थित प्रहरी प्रभागको भवनमा पनि लुटपाट तोडफोड भएको छ । प्रहरी प्रभाग बलम्बुमा पनि झ्यालका सिसा फुटाइएका छन भने अन्य केही संरचनामा क्षति पुगेको छ । यहाँ स्थानीयले प्रतिकार गरेपछि प्रहरी थानामा थप क्षति हुन नपाएको उनीहरूको भनाइ छ । 

यी प्रहरी कार्यालयमा भएको भाैतिक क्षतिको विवरण सार्वजनिक भइसकेको छैन् ।

प्रहरी प्रभाग मच्छेगाउँ र नैकाप सुरक्षित छन् । 

एउटै कम्पाउण्डमा भएको चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीको २ तथा उनका दाजुको १ घरमा समेत भदाै २४ मा लुटपाट, तोडफोड, आगजनी भएको छ । सोपछि तीनवटै घर क्षतिग्रस्त भएका छन् । क्षतिको मूल्यांकन हुन बाँकी रहेको छ ।

यस्तै, चन्द्रागिरि नगरपालिका-५ दाउराडिपोस्थित एक व्यापारिक गोदाम भवनमा लुटपाट तथा आगजनी भएको छ, यो समाचार तयार पार्दाको बखतसम्म पनि सो भवनमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन् । 

सतुङ्गलस्थित सीजी इलेक्ट्रोनिक्समा लुटपाट तथा आगजनी भएको छ । आगजनीपछि सो सीजी इलेक्ट्रोनिक्स पूर्णरूपमा खरानी बनेको छ । जहाँ ७५० जनाभन्दा धेरै श्रमिक कार्यरत थिए । 

मंगलबार कै घटनामा निवर्तमान गृहमन्त्री रमेश लेखकको नैकापस्थित घरमा लुटपाट तथा आगजनी भएको छ । आगलागीपछि सो घर क्षतिग्रस्त बनेको छ भने संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण विडारीको तीनथानामा रहेको दुवै घरमा लुटपाट तथा आगजनी भएको । उनले चढ्ने दुवै गाडीमा समेत जलाइएका छन् । 

पूर्व कायम मुकायम प्रधानन्यायाधीश दीपक कार्कीको तीनथानास्थित घरमा समेत तोडफोड र आगजनी भएको छ । 

चन्द्रागिरि केबलकारको बटम स्टेशनमा समेत मंगलबार आगजनी लुटपाट तथा आगजनी भएको छ । सो को क्षतिको विवरण आउन बाँकी रहेको छ । पछि केबलकार सेवा बन्द भएको छ ।

चन्द्रागिरि नगरसँग सीमा जोडिएको कीर्तिपुर नगरपालिकाको भवन मंगलबार आगलागीबाट क्षतिग्रस्त बनेको छ, थाहा नगरपालिकाको अवस्था समेत उस्तै छ । प्रहरी वृत्त कीर्तिपुरपनि आगजनीबाट ध्वस्त बनेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *