एमालेले जनतासँगको सम्बन्ध व्यापक सुधार गर्नेछ-एमाले सचिव योगेश भट्टराई

Thankot Times

थानकोट ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले जनतासँगको सम्बन्धमा व्यापक सुधार गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले भदौ २३ र २४ गतेको घटनाको व्यापक छानबिन गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

भट्टराईले नेपाल एक पटक फेरि संक्रमणकालमा प्रवेश गरेको बताउँदै संसद् विघटन सङ्क्रमण निदानको सही बाटो नभएको उल्लेख गरेका छन् । उनले संक्रमणको निराकरण संवैधानिक प्रक्रियाबाट हुनुपर्ने माग गरेका छन् ।  ‘जेनजीहरुका मागलाई संवैधानिक प्रक्रियाबाटै,संसदबाटै पुरा गर्न सकिन्थ्यो । राष्ट्रपतिले अहिले जसलाई प्रधानमन्त्री बनाउनुभएको छ उहाँलाई संसदबाट पनि प्रधानमन्त्री बनाउन सकिन्थ्यो’ भट्टराईले भिडियो सन्देशमा भनेका छन्- ‘तर त्यता जान खोजिएन । संसदलाई विघटन गरिएको छ । यो सही निकास होइन ।’

संविधान परिपालना नगर्दा यसको खारेजीको जोखिम हुने उहाँको भनाइ छ । यदि त्यो अवस्था आयो भने नयाँ संविधान बनाउन सहज नहुने भट्टराईको तर्क छ । ‘संविधानलाई लिकमा फर्काउन,लोकतान्त्रिक प्रक्रियालाई लिकमा फर्काउन सजिलो छैन’ भट्टराईले भने, ‘आगामी दिनमा संविधान र लोकतन्त्रलाई लिकमा फर्काउन धैर्यतापूर्वक अघि बढ्नुको विकल्प छैन । प्रधानमन्त्री र राष्ट्रपतिलाई भन्न चाहन्छौँ तपाईंहरुका हरेक कदम संवैधानिक होउन् । हामी समर्थन गर्छौँ ।’

१२ मिनेट २० सेकेन्डको भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले भ्रष्टाचार,कुशासन र बेथिति समाजको नकारात्मक पाटो भएकोले यसको अन्त्य हुनुपर्ने बताएका छन् । एमालेले भौतिक संरचना निर्माणमा ठुलो उपलब्धि हासिल गरेको स्मरण गराउँदै भट्टराईले भ्रष्टाचार नियन्त्रणका लागि जति प्रयत्न गर्नुपर्थ्यो त्यति गर्न नसकिएको बताए । ‘जनताका आवाज, युवा पुस्ताको आवाजलाई ठिक ढङ्गले सम्बोधन गर्ने कुरामा हामी कतै चुक्यौँ । ती कमी कमजोरीप्रति हामी आत्मालोचना गर्दछौँ’ भट्टराईले भने,  ‘यस कमजोरीका लागि जनतासँग माफी माग्दछौँ । किनकि एउटा राजनीतिक दल जनताबिना बाँच्न सक्दैन । जनता हाम्रा आधार स्तम्भ हो । ’

भट्टराईले एमालेलाई गतिशील बनाउन युवाहरूको आवश्यकता औँल्याएका छन् । उनले एमाले युवाहरूले नै बनाएको पार्टी हुनाले युवाहरूले न नेतृत्व गर्दै आएको पार्टी भएको स्मरण गराएका छन् । 

 ‘हाम्रो पार्टीमा पुरानो पुस्ता छ । बिचको पुस्ता छ । युवा पुस्ता छ’ भट्टराईले भने,  ‘हाम्रो पार्टीमा जेन्जी पुस्ता किन आइरहेको छैन । उनीहरूको र हाम्रो पार्टीका कडी किन टुटिरहेको छ । यसको गम्भीर समीक्षा गर्नेछौँ । हाम्रो पार्टीको नीति,नेतृत्व आगामी दिनमा युवा मैत्री बनाउने छौँ ।’ 

एमाले नयाँ र युवा मैत्री,जनमुखी,प्रगतिशील बनाउन संरचनागत सुधार गर्ने उनको भनाइ छ । युवाहरूलाई एमालेप्रति विश्वास गर्न सबैलाई आग्रह गरेका छन् ।

सङ्कटका बेला यो कारण वा त्यो कारण देखाएर पार्टी छोड्ने प्रवृत्ति राम्रो नभएको उनले बताएका छन् । यसरी पार्टी छोडेर हिँडेकाहरूलाई एमाले जस्तो विशाल पार्टीमा फर्कन उनले अपिल गरे । समाज र हरेक व्यक्तिको रूपान्तरण आजको आवश्यकता भएको भिडियो सन्देशमा उनले उल्लेख गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *