नेपाल र वेस्ट इन्डिजविरुद्धको शृंखलाको नाम ‘युनिटी कप’ राखियो

Thankot Times

थानकोट ।

नेपाल र वेस्ट इन्डिजबीचको सेप्टेम्बर २७बाट सुरु हुने टी–२० शृंखलाको नाम ‘युनिटी कप’ हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार सामाजिक सञ्जालमार्फत शृंखलाको नाम युनिटी कप हुने जनाएको हो ।

क्यानले यो शृंखला नेपालले भोगेको अप्रत्याशित परिस्थिति र परिणामका कारण गुमाएका सबै जीवनहरूको सम्मानमा समर्पित रहने पनि जनाएको छ ।

“हामी खेलकुदको शक्तिमा विश्वास गर्छौं । जसले हृदयलाई एकताबद्ध गर्छ र राष्ट्रलाई प्रेरित गर्छ ।

युनिटी कप भनेको सबैलाई एकसाथ ल्याउन, बलियो बन्धन निर्माण गर्न जोश र सद्भावका साथ निको पार्ने र पुनर्जीवित गर्ने हाम्रो आह्वान हो । यो नेपाल र दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजबीच शारजाहमा हुने छ । एउटा देशको रूपमा, हामी एक भएर उभिएका छौँ र हामी पहिलेभन्दा ठूलो, राम्रो र बलियो भएर बाहिर निस्कनेछौँ । हामी यो श्रृंखला गत हप्ता अप्रत्याशित परिस्थिति र परिणामका कारण गुमाएका सबै जीवनहरूको सम्मानमा समर्पित गर्दछौँ,” क्यानले सामाजिक सञ्जालमा लेखेको छ ।

नेपालले युनाइटेड अरब इमिरेट्समा वेस्ट इन्डिजविरुद्ध तीन खेलको टी–२० शृंखला खेल्ने तालिका छ ।

तालिकाअनुसार नेपालले सेप्टेम्बर २७ मा पहिलो, २९ मा दोस्रो र ३० मा तेस्रो खेल खेल्ने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *