नेपाल प्रहरीका पूर्वजवानले डीएसपीको युनिफर्म लगाएर फोटो सामाजिक सञ्जालमा राखेपछि….
थानकोट ।
गत साताको जेन-जी प्रदर्शनपछि सामाजिक सञ्जालमा डीएसपीको युनिफर्म लगाएर आन्दोलन भड्काउने एक जना युवकको भिडियो भाइरल छ ।
प्रहरीको युनिफर्म लगाएर राष्ट्रिय झण्डा बोकेका ती युवक भन्छन्, ‘अब लगालग गर्ने हो, एकदम लगालग ।’
उनी आफ्नो मोबाइलबाट भिडियो पनि बनाइरहेका देखिन्छन् । न्यूरोड स्थित प्रहरी वृत्त जनसेवा लगायतका प्रहरीका कार्यालयमा आगजनी र तोडफोड गर्ने ती युवक सुरज कुमार रौनियार हुन् ।
पर्सा घर भएका रौनियार पूर्व प्रहरी हुन् । भक्तपुरमा कार्यरत रहँदा आपराधिक काममा संलग्न भएको भेटिए पछि प्रहरी प्रधान कार्यालयले उनलाई बर्खास्त गरेको थियो । ठगीमा संलग्न भेटिएपछि उनी २०७८ मा बर्खास्त भएका हुन् ।
जेनजी प्रदर्शनको मौका छोपेर प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा तिनै रौनियारको संलग्नता देखिएको प्रहरी अधिकृतहरू बताउँछन् । उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतका अनुसार रौनियार २०८१ मा १० लाख नगद लुटपाटको आरोपमा पक्राउ परेका थिए ।
उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृत भन्छन्, ‘रौनियारले विभिन्न प्रहरी कार्यालयमा आगजनी गरेको देखिन्छ, हामी अनुसन्धान गर्दै छौँ ।’

















