मनकामना केबलकार सेवा आजबाट सुचारु
थानकोट ।
देशकै पहिलो केबलकार सेवा मनकामना केबलकारको सेवा आज (असोज १) बुधबारबाट पुनः सुचारु भएको छ ।
यही भदाै २३ र २४ गते भएको जेन-जी प्रदर्शनपछि विकसित भएको विषम् परिस्थितिपछि केबलकार सेवा स्थगित भएको थियो ।
मनकामना दर्शन प्रालिले सोमबार (भदाे ३०) एक सूचना जारी गर्दै मनकामना केबलकार सेवा आज (असोज १) बाट सुचारु हुने जानकारी दिएको थियो ।
गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा रहेको मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको मनकामना केबलकारको प्रवेशद्वार (बटम स्टेशन) भने चितवनको इच्छाकामना-४ स्थित चेरेसमा रहेको छ ।
मनकामना दर्शन प्रालि २०५३ कात्तिक २२ गते स्थापना भएको कम्पनी हो । प्रालिले २०५४ माघको अन्तिम साता केबलकार निर्माण प्रारम्भ गरी २०५५ मंसिर ८ गतेबाट व्यावसायिक सेवा सुरु गरेको थियो ।
मनकामना केबलकारले सुरुआती वर्षमा २-३ लाख यात्रुलाई सेवा दिएकोमा अहिले बढेर वार्षिक ११ लाख भन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ ।

















