कोटेश्वर भाटभटेनीमा मृत भेटिएका युवकले अन्तिम समयमा त्यहीँबाट गरेका थिए बुबालाई फोन
थानकोट ।
काठमाडाैंको कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट स्टोरमा बुधबार मृत भेटिएका व्यक्तिको पहिचान भएको छ ।
मृत भेटिने व्यक्ति रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर–६ घर भएर ललितपुर बस्दै आएका २२ वर्षीय विकास रसाइली हुन् ।
जलेको अवस्थामा उनको अस्थिपञ्जरमात्र भेटिएको जिल्ला प्रहरी परिसर काठमाडाैंका एसपी अपिल बोहराले बताए ।
ललितपुरको च्यासल बस्दै आएका रसाइली भदौ २४ मा साँझ काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ स्थित कोटेश्वरमा रहेको भाटभटेनीको शाखामा आगजनी हुँदा त्यहाँ पुगेका थिए ।
चौथो तलामा उनी पुग्दा तलबाट उनीसँगै गएका अरू प्रदर्शनकारीहरूले आगो लगाए ।
आगोको लप्काको कारण ओर्लिन नसक्ने भएपछि उनले बुबालाई फोन गरेर भने, ‘बुबा, म भाटभटेनीको ४ तलामाथि ट्रयापमा परेँ ।’
त्यो कल उनको अन्तिम कल थियो ।
प्रहरीले उनको शवसँगै एउटा मोबाइल फेला पारेको छ ।
मोबाइलको प्राविधिक जाँच गर्दा रसाइलीकै रहेको पुष्टि भएको एसपी बोहराले जानकारी दिए ।
बुधबार सरसफाइ गर्दा चौथो तलामा उनको अस्थिपञ्जर फेला परेको हो ।
शव पोष्टमार्टमको लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

















