एसिया कप-२०२५ः सुपर ४ समीकरण पूरा
थानकोट ।
श्रीलंका एसीसी एसिया कपमा सुपर ४ मा प्रवेश गरेको छ ।
बिहीबार युनाइटेड अरब इमिरेट्स (यूएई)को अबुधाबीस्थित जायद क्रिकेट रंगशालामा अफगानिस्तानले पेश गरेको १७० रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
श्रीलंकाको जितमा कुशल मेन्डिसले ५२ बलमा १० चौकासहित अविजित ७४ रनको बनाए ।
कुशल परेराले २८, कामिन्दु मेन्डिसले अविजित २६ र कप्तान चरिथ अस्लंकाले १७ रन जोडे ।
अफगानिस्तानका मुजिब उर रहमान, अज्मतुल्लाह ओमरजाई, मोहम्मद नबी र नुर अहमदले समान एक विकेट लिए ।
त्यसअघि, टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ रन बनाएको थियो ।
अफगानिस्तानका मोहम्मद नबीले २२ बलमा ६ छक्का र तीन चौकासहित ६० रन बनाएका थिए । इब्राहिम जद्रान र कप्तान राशिद खानले समान २४ रन थपे । सेदिकुल्लाह अटलले १८ र रहमनुल्लाह गुर्बाजले १५ रन बनाए ।
श्रीलंकाका नुवान तुषाराले चार विकेट लिए । दुस्मन्था चमिरा, डुनिथ वेलालागे र दसुन सनाकाले समान एक विकेट लिए ।
लगातार तेस्रो जितसँगै तीन खेलबाट ६ अंक जोडेको श्रीलंका समूह ‘बी’को शीर्ष स्थानमा रह्यो ।
श्रीलंकाको यो जितसँगै तीन खेलबाट चार अंक जोडेको बंगलादेश पनि उपविजेताका रूपमा अगाडि बढेको छ ।
समूह ‘ए’ बाट भारत र पाकिस्तान पुगेका छन्।













