नागढुङ्गा सुरूङ्ग मार्ग दशैंअघि नै परीक्षणको तयारी
थानकोट ।
देशको दोश्रो सुरुङ मार्ग नागढुङ्गा सुरूङ मार्ग परीक्षण (ट्रायल) सञ्चालन गर्ने तयारी हुँदैछ ।
दसैँअघि नै सुरुङ मार्ग परीक्षण गर्ने तयारी भौतिक योजना, पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको हो ।
यसका लागि सुरूङमार्ग निर्माणकर्ता जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनको स्वीकृति आवश्यक पर्ने मन्त्रालयले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ एवंम् भौतिक, पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले परीक्षण निम्ति भएपनि दसैँअघि सुरुङ मार्ग सञ्चालन निम्ति तयारी गर्न आयोजनालाई निर्देशन दिएका हुन् ।
घिसिङको निर्देशनपश्चात् आयोजनाले परीक्षणका रुपमा भएपनि एकतर्फी सञ्चालन गर्ने विषयमा छलफल थालेको छ । यद्यपि यसमा निर्माणकर्ताको स्वीकृति हुनुपर्नेछ । मन्त्रालयमा यसको प्रारम्भिक छलफलमा रहेको नागढुंगा सुरुङ निर्माण परियोजना प्रमुख सौजन्य नेपालले जानकारी दिए ।
मन्त्रालयले यसअघि नै सञ्चालन निम्ति टोल दस्तुर निर्धारण गरी मन्त्रिपरिषदबाट स्वीकृत समेत गराइसकेको छ । जसमा कार तथा भ्यानहरूले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्ने छ ।
मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ । बस र ट्रकले काठमाडौं प्रवेश गर्दा २६० र बाहिरिँदा २ सय रुपैयाँ तिर्नुपर्नेछ । भारी उपकरणका बोक्ने साधन काठमाडौं आउँदा ६ सय र जाँदा २५० लाग्नेछ । सुरुङ मार्गबाट मोटरसाइकल, इन्धन बोक्ने सवारी–साधान चल्न निषेध गरिएको छ ।
“हाललाई परीक्षणका रुपमा टोल केही सार्वजनिक सवारी एकतर्फी रुपमा सञ्चालन गर्नेगरी छलफल अघि बढेको छ,” नेपालले भनेको बाह्रखरीमा खबर छ ।
स्थानीयले हाल फ्लाई ओभरको र्याम्पमा सडक क्रसिङका लागि स्थानीयबाट पटक पटक माग भइरहेको आयोजनाले जनाएको छ । उक्त समस्या समाधान गर्न हाल अल्पकालीन पैदलयात्री क्रसिङ मात्र उपलब्ध गराइने र विकल्पमा दैदलयात्री आकाशे पुल निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ ।
यस्तै पश्चिम पोर्टलमा पहिरो नियन्त्रण र रोकथाम गरिएपनि थप समस्या देखिएको छ ।
कात्तिकबाट निर्माण व्यवसायीले पश्चिमतर्फ रहेको पहिरोबाहेक सम्पूर्ण निर्माण काम सकी सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।
समयमै सेवा प्रदायक परिचालन हुन सकेमा आगामी माघ महिनाबाट खुला गर्ने आयोजनाको तयारी छ ।












