काउली लोड गरिएको पिकअपमा ३३४ केजी गाँजा भेटिएपछि..
थानकोट ।
रौतहटस्थित प्रहरी गस्ती टोलीले काउली बोकेको पिक अप भ्यानमा लुकाई छिपाई भारततर्फ लैजाँदै गरेको ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ।
भारतसँग सिमाना जोडिएको ईशनाथ नगरपालिका-८ मोतिपुरहुँदै सिमा क्षेत्रतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२२ च १८६१ नम्बरको पिकअप भ्यानबाट ३३४ केजी गाँजा बरामद गरिएको हो।
प्रहरी चौकी रामपुरका प्रमुख असई अमोद साफीको नेतृत्वमा खटिएको प्रहरी गस्ती टोलीले राति करिब ८ बजे चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी राजु कार्कीले बताएका छन्।
उक्त पिकअप गाडीमा माथिल्लो भागमा करिब २० पोका काउली लोड गरिएको थियो।
तलको भाग जाँच गर्दा २६ पोका गाँजा भेटिएको प्रहरीले जनाएको छ।
गाडीचालक भने फरार भएका कारण प्रहरीले गाडीलाई नियन्त्रणमा लिएर चालकसहितका अन्य संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारेको प्रवक्ता कार्कीले जानकारी दिए ।
हालैको जेन-जी आन्दोलनका कारण प्रहरी युनिटमा भएको जनधनको क्षतिपछि गस्तीमा कमी आउन थालेको मौका छोपी तस्करले गाँजा तस्करी पुनः सक्रिय गर्न खोजेको स्थानीयको भनाइ छ ।

















