.. अनि चन्द्रागिरि नगरका कर्मचारी निराश हुँदै घर फर्किए

Thankot Times

थानकोट ।

चालु आर्थिक वर्षको बजेट पुस्तक प्रमाणीकरण नहुँदा चन्द्रागिरि नगरमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिको तलब भत्ता रोकिएको छ ।

आर्थिक वर्ष २०८२-८३ का लागि विकास निर्माणका योजना वडागत रुपमा पेश हुन ढिलाइ हुनु, बजेटमा नेकपा एमालेले असहमति जनाउनु लगायतका कारण बजेट पुस्तिका प्रमाणीकरण एवं प्रकाशनमा ढिलाइ भइरहँदा गत भदाै २४ गते जेन-जी आन्दोलनका क्रममा नगरपालिका कार्यालय तोडफोड एवं नगरप्रमुख घनश्याम गिरीको निवासहरू आगजनी भएपछि चन्द्रागिरि नगरको बजेट पुस्तिका प्रमाणीकरण तथा प्रकाशनमा विलम्ब भएको नगरप्रवक्ता कृष्णप्रसाद खड्गीको भनाइ छ । 

बजेट पुस्तक प्रमाणीकरण नहुँदा कर्मचारीले पछिल्लो २ महिनाको तलब पाएका छैनन भने गत वर्ष निर्माण सम्पन्न भएका केही योजनाको भुक्तानी समेत प्रभावित बनेको छ । 

रातो किताब प्रमाणीकरणको प्रकृया अन्तिम चरणमा प्रवेश गर्नै लाग्दा भदाै तेस्रो साताको अकल्पनीय परिस्थितिका कारण बजेट कार्यान्वयनमा केही ढिलाइ भएकै हो, अवस्था सामान्य भएको भए ढिलोमा भदाै तेस्रो सातापछि चालु आर्थिक वर्षको बजेट कार्यान्वयमा लैजाने हाम्रो तयारी थियो प्रवक्ता खड्गीले भने ।

यद्यपी, नगरप्रमुख गिरी हिजो (आइतबार) कार्यालय पुगि बजेट प्रमाणीकरण तथा कार्यान्वयनका लागि स्वीकृत दिने तयारी भइरहँदा महालेखा नियन्त्रक कार्यालयबाट सञ्चालित स्थानीय तहको बजेट तथा भुक्तानी सम्बन्धी स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा प्राविधिक समस्या आउँदा भुक्तानी प्रणाली नै अवरुद्ध बनेपछि कर्मचारी तथा सेवाग्राहीहरू दुःखी बनेका छन् । 

महालेखाको भुक्तानी प्रणाली सुचारु हुन्छ कि भनेर हामी साँझ ६ बजेसम्म नगरमै थियाैं, एक जना जनप्रतिनिधिले भने । भोलि (सोमबार) बिदा भएपनि हामी भुक्तानी प्रणाली सुचारु हुने आशमा नगरमै हुनेछाैं उनले आइतबार साँझ थानकोट टाइम्ससँग भने । 

चन्द्रागिरि नगरपालिकाले तत्कालका लागि कर्मचारीको तलब भत्ता, गत आर्थिक वर्षमा भुक्तानी हुन बाँकी रहेका योजनाको रकम भुक्तानी प्राथमिकतामा राख्दै दशैं बिदा अघि नै बजेट कार्यान्वयनमा लैजाने बताएको छ । 

बजेट पुस्तिका (रातो किताब) प्रकाशन भएपछि मात्रै बजेट कार्यान्वयनमा जाने परम्परा छ ।

चन्द्रागिरि नरपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि २ अर्ब ९३ करोड ४६ लाख ल्याएको छ ।

आर्थिक वर्ष २०८२-८३ का लागि चन्द्रागिरि नगरको बजेट २ अर्ब ९३ करोड ४६ लाख प्रस्ताव


Leave a Reply

Your email address will not be published. Required fields are marked *