नवनियुक्त चार मन्त्रीले लिए शपथ, कार्की नेतृत्वको क्याबिनेट अब आठ सदस्यीय

Thankot Times

थानकोट।

नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार (असोज ६) शीतलनिवासमा आयोजित समारोहमा उनीहरूले शपथग्रहण गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त कानुन न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हा, कृषि तथा पशुपंक्षी विकास मन्त्री मदन परियार, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई शपथ गराएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले उनीहरूलाई मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष नाम सिफारिस गरेकी थिइन् ।

यसअघि अर्थ मन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र गृह मन्त्री ओमप्रकाश अर्यालले शपथ ग्रहणसहित पदभार ग्रहण गरिसकेका छन् ।

प्रधानमन्त्री कार्कीले मन्त्रिमण्डलमा हेरफेर समेत गरेकी छन् । अर्थ मन्त्री खनाललाई संघीय मामिला मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ भने गृहमन्त्री अर्याललाई दिइएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी नवनियुक्त मन्त्री सिन्हालाई दिइएको छ । यसअघि चार सदस्यीय रहेको मन्त्रिपरिषद् सोमबार चारजना थपिएपछि आठ सदस्यीय भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *