दशैं मनाउन नागरिकलाई नागढुङ्गा सुरुङमार्ग हुँदै घर पठाउने मन्त्री घिसिङको योजनामा ब्रेक !
थानकोट ।
असोज ४ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले चाडबाडलाई लक्षित यातायात व्यवस्थापन र सडक सुरक्षासम्बन्धी विषयमा सरोकारवालासँग छलफल गरे ।
सो क्रममा मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीसहितको उपस्थितिमा ७ वटा निर्णय गरिए ।
जसअन्तर्गत काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुवाहक सार्वजनिक सवारी साधन नागढुंगा सुरुङ्गमार्ग भएर बाहिर जान पाउने समेत उल्लेख थियो । पढ्नुहोस यस बारेको समाचारः
दशैंका लागि यात्रुवाहक सार्वजनिक सवारीसाधन नागढुंगा सुरुङ्गमार्गमा गुड्न पाउने
तर, यो निर्णय कार्यान्वयनमै जटिलता देखिएपछि तत्कालका लागि सुरुङ मार्ग सञ्चालन हुन नसकेको बताइएको छ।
हाल नागढुङ्गा सुरुङ मार्गमा अन्तिम फिनिसिङको कार्य जारी छ । सुरूङमार्ग निर्माणकर्ता जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले सो कार्य गरिरहेको छ । निर्माणकर्ता जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले हालका लागि सुरुङ मार्गमा यातायात सञ्चालनका लागि अनुमति नदिएपछि दशैंमा काठमाडाैंबाट बाहिरिने सवारी साधनले सुरुङ मार्गमा प्रवेश नपाएका हुन् ।
हाज्मा एन्डो कर्पोरेसनले नेपाल सरकारसमक्ष सुरुङ मार्ग हस्तान्तरण नहुन्जेल अन्य सवारी साधन सञ्चालन गर्न इन्कार गरेको स्रोतले जनायो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ सुरुङ मार्ग हुँदै यो दशैंमा सवारीसाधन काठमाडाैंबाट मोफसल पठाउने विषयमा सुरुङ मार्ग निर्माणकर्ता कम्पनीसँग छलफलमै हुनुहुन्छ तर जापानी कम्पनीले मन्त्री घिसिङको चाहनामा हरियो झण्डा देखाउने सम्भावना न्यून छ, स्रोतले थानकोट टाइम्ससँग भन्यो ।
सुरुङबाट सवारीसाधन गुड्न पाए साढे ७ किलोमिटर सडक २.६ किलोमिटरमा छोटिनेछ । अर्थात, सुरुङ मार्ग हुँदै सवारीसाधन गुड्दा थानकोट-नागढुङ्गा-पिपलामोडको दूरी छिचोल्नु पर्नेछैन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव ई. केशवकुमार शर्माले चाडपर्वमा आमनागरिकलाई गन्तव्यमा पुग्न सहज होस् भन्दै मन्त्रीबाट निर्देशनबमोजिम आफूहरू सो सुरुङमार्ग सञ्चालनका लागि तयार भए पनि निर्माण कम्पनी र परामर्शदाता कम्पनीले सुरक्षाको जोखिम देखाउँदै सुरुङमार्ग सञ्चालनमा ल्याउन नमानेको जानकारी दिए।
तयारी पूरा नहुँदै सञ्चालनमा ल्यायो भने सुरुङभित्र सवारीसाधन दुर्घटना हुन सक्ने, सवारीसाधन दुर्घटना हुँदा त्यसको उद्धार कार्य कठिन हुन सक्ने, आक्सिजनको समस्या हुन सक्नेलगायतका जोखिम हुने भनाइ निर्माण कम्पनी र परामर्शदाता कम्पनीको रहेको सचिव शर्माले बताए ।












