अमेरिकी क्रिकेट बोर्ड निलम्बनमा

Thankot Times

थानकोट ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अमेरिकी क्रिकेट बोर्डलाई निलम्बन गरेको छ ।

बारम्बार विधानअनुसारका दायित्व पूरा नगरेको निष्कर्षसहित आईसीसी बोर्ड बैठकले अमेरिकाको सदस्यता खारेज गरेको हो ।

संघले शासन संरचना सुधार नगरेको, अमेरिकाको ओलम्पिक तथा पारा–ओलम्पिक समितिसँग राष्ट्रिय निकायको मान्यता लिन चासो नदेखाएको र विभिन्न गतिविधिले विश्व क्रिकेटमै बदनाम पारेको आरोप आईसीसीको छ ।

क्रिकेट बोर्ड निलम्बन भए पनि अमेरिकी राष्ट्रिय टोलीले भने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ । तर, टोलीको व्यवस्थापन अब अस्थायीरूपमा आईसीसी वा त्यसका प्रतिनिधिले गर्नेछन् ।

आईसीसीले ‘नर्मलाइजेसन कमिटी’ गठन गरी अमेरिकी क्रिकेटलाई आवश्यक सुधारका कदम चाल्न निर्देशन दिने र प्रगतिलाई अनुगमन गर्ने जनाएको छ ।

यसअघि, सन् २०२४ को वार्षिक साधारण सभामा अमेरिकी क्रिकेटलाई ‘अन नोटिस’मा राखिएको थियो । तर, निर्देशनअनुसारका सुधार नगरेकाले अहिले सदस्यबाट हटाइएको हो ।

यसअघि, आईसीसीले सन् २०१६ देखि २०१९ सम्म नेपाल क्रिकेट संघ (क्यान)लाई पनि निलम्बन गरेको थियो । त्यतिबेला क्यान निलम्बनमा परे पनि नेपाली टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *