काठमाडाैं महानगर भित्रका सडकमा २५ सय थान ट्राफिक कोन राखिँदै
थानकोट ।
काठमाडौँ महानगरपालिकाको सहरी व्यवस्थापन विभागअन्तर्गत यातायात तथा सडक सुरक्षा स्वर्णिम योजनाले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि अन्तर्राष्ट्रिय गुणस्तरअनुसारका ट्राफिक कोन र रिट्र्याक्टेबल बार सडकमा राख्न सुरु गरेको छ ।
यी सामाग्रीहरू नेपालमा नै उत्पादन भएका हुन् ।
आर्थिक वर्ष २०८०–८१ मा नै यी सामाग्रीहरू खरिद गर्ने योजना भएता पनि विभिन्न प्रक्रियागत चुनौतीका कारण २०८१–८२ मा खरिद गरिएको हो । जसले ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
सहरी योजना आयोगका सहायक विज्ञ (ट्राफिक तथा यातायात इन्जिनियरिङ) अनुकूल निधिका अनुसार पहिले-पहिले सडकमा राखिने कोन भन्दा अहिलेको कोनको आकार ठुलो भएकाले सवारी चालकहरूलाई अनुशासित बनाउनेछ ।
यी कोनहरू तल प्वालरहित र ३ देखि ५ केजी तौलका छन् ।
यसले बाइक चालकहरूले कोन हटाउने प्रवृत्तिलाई पनि निरुत्साहित गर्ने समेत निधिले बताए ।
‘यी कोनहरू राति पनि स्पष्ट देखिन्छन् । एक सेटमा दुई ट्राफिक कोन र एउटा २ मिटर लामो टेलिस्कोपिक रिट्र्याक्टेबल बार (जसले दुई कोनलाई जोड्छ) राखिएको छ । यसरी १ हजार २५० सेट खरिद भएका छन्, जसमा कुल २५ सय कोन र १ हजार २५० बार छन् ।’ निधिले थपे ‘यी सामग्रीहरू काठमाडौँका मुख्य सडक खण्डहरूमा च्यानलाइजेसनको कमी र दक्षिण एसियाली ड्राइभिङ व्यवहार (खाली ठाउँमा तरल पदार्थजस्तै गाडी चढ्ने प्रवृत्ति)लाई सम्बोधन गर्न सक्ने छ ।’
ट्राफिक इन्जिनियरिङका सिद्धान्तअनुसार, सडक चौडा नगरी च्यानलाइजेसन गर्नु नै ट्राफिक व्यवस्थापनको आधार हो । सहायक विज्ञ निधिका अनुसार पहिलो चरणमा बुधबार यी कोनहरू सिंहदरबारदेखि भद्रकाली, सिंहदरबारदेखि माइतीघर र पद्मोदय मोड गरी तीन स्थानमा प्रयोग गरिएको छ । विशेषगरी भद्रकालीबाट सिंहदरबारतिरको क्षेत्रमा लस्कर आकारमा कोन राख्दा विपरीत दिशाबाट आउने सवारीको चापलाई न्यूनीकरण गर्ने छ । जसले सहजै बायाँ तर्फ मोडिने सवारीले (माइतीघरदेखि भद्रकाली तर्फ) लेन निर्बाध रूपमा प्रयोग गर्न सक्ने छन् । जसले दुर्घटना र ट्राफिक जामको समस्या घटाउने छ ।
कोन राख्ने काम काठमाडौँ महानगरपालिका, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात तथा सडक सुरक्षा योजनाको प्राविधिक टोलीसँगको सहकार्यमा सम्पन्न गरेको हो ।
तस्बिरः काठमाडाैं महानगरपालिका

















