दशैं मनाउन सवा दुई लाख जनाले छाडे काठमाडौं, बिहान र साँझ थानकोटमा गाडीको अत्यधिक चाप

Thankot Times

थानकोट ।

दशैं पर्व मनाउन गाउँ घर फर्कनेको संख्या दिनहुँ बढ्दो छ । 

चाडपर्वका लागि हालसम्म २ लाख २० हजार यात्रुले काठमाडौं छाडेका छन्।

यतिबेला नयाँ बसपार्क, कलंकी, कोटेश्वर लगायत काठमाडौं छाड्ने मुख्य नाकाहरूमा यात्रुहरूको भीड र चहलपहल अत्यधिक बढेको छ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालका अनुसार घटस्थापनादेखि बिहीबार साँझसम्म दुई लाख २० हजार यात्रुले दसैं मनाउन  विभिन्न नाकबाट काठमाडौं छाडिसकेका छन्। उनका अनुसार  हालसम्म बिपी राजमार्गबाट मात्र १० हजार सार्वजनिक गाडी  काठमाडौंबाट गुडिसकेका छन्।

मुग्लिन–नारायणघाट खण्ड अवरुद्ध हुँदा पछिल्ला तीन दिन त्यस खण्डमा यात्रा गर्ने यात्रुहरू रोकिएका छन्। त्यसबाट मुग्लिन-पोखरा तथा काठमाडौंबाट हेटौडा जाने तीन रुट अत्यधिक व्यस्त भएका छन्। काठमाडौंबाट त्रिभुवन राजपत्र, कान्ति लोकपथ तथा दक्षिणकाली हुँदै सवारी साधान हेटौडा जाने गरेका छन्।

‘घटस्थापनापछि बिपी राजमार्गबाट बढीमा दैनिक तीन हजार पाँच सय, अरनिको राजमार्गबाट बढीमा दैनिक तीन सय ५०, मुग्लिन-पोखरा खण्डबाट दैनिक एक हजार पाँच सय र टोखा जाने रुटबाट दैनिक करिब एक सय वटा गाडी काठमाडौंबाट छुट्ने गरेका छन्’ नेपालले भने।

मुलुकको विभिन्न क्षेत्रबाट काठमाडौं उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दसैं मनाउन घर जाने गरेका छन्। दसैं तिहारको बेला स्कुल तथा कलेज लामो समयसम्म बिदा हुने गर्छ। त्यसैले धेरैजसो  विद्यार्थीहरू घटस्थापनाको वरिपरि नै काठमाडौं छाड्ने गरेका छन्। काठमाडौं छाड्ने यात्रुहरू थानकोट, साँगा, दक्षिणकाली र बालाजु, कोटेश्वर नाकाबाट गन्तव्यतर्फ जाने गरेका छन्। बिपी राजमार्गबाट यात्रा गर्नेहरू कोटेश्वरबाट र मुग्लिनको बाटोबाट यात्रा गर्नेहरू कलंकी तथा नयाँ बसपार्कबाट यात्रा गर्ने गरेका छन्।

काठमाडौंबाट काठमाडौ बाहिर जान चाहने यात्रुका लागि टिकटको समस्या नभएको यातायात व्यवसायीहरूले जनाएका छन्। आवश्यकता भए थप थप गाडीको व्यवस्था गर्न सकिने उनीहरूको भनाइ छ।

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक  सुनिल कुँवरले नयाँ बसपार्कबाट दैनिक ५०० बस बाहिरिन थालेको बताए।

उनका अनुसार दसैं तिहार जस्ता चाडपर्वबाहेक अन्य समयमा दैनिक औसतमा दुई सय ५० बस बाहिरिने गरेका थिए। हाल उक्त संख्यामा ह्वात्तै वृद्धि भएको जानकारी कुँवरले गराए।

दसैंमा घर जाने यात्रुको सहजताका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न काम गरिरहेको छ। उक्त प्रहरी कार्यालयले विभिन्न संघ संस्थाको सहकार्यमा काठमाडौं उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।

दसैंको बेला यात्रुको चलहपहल र आवातजावात बढ्दा यातायात व्यवसायीहरू खुसी भएका छन्। वर्षभरि भएको घाटा यसैबेला उठाउने उनीहरूको योजना छ। महासचिव नेपालका अनुसार लामो दूरीमा गुडने ठूलो बसले दैनिक २० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्।

यसैगरी सानो दुरीमा चढ्ने माइक्रो बसले दैनिक ३ हजार देखि ३ हजार पाँचसयम्म आम्दानी गरेका छन्। नेपालका अनुसार पेट्रोल डिजेलको गाडीको तुलनामा विद्युतीय गाडीले बढी आम्दानी गर्ने गरेका छन्।

दसैं प्रारम्भ हुनेबित्तिकै देशभरि प्रायः सबै ठाउँमा मुख्यमुख्य सडक प्रभावित भए। त्यसैगरी ठाउँठाउँमा पहिरो गयो। यसबाट यात्रुहरू मर्कामा परे। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले पानी परेका कारण राजमार्गमा पहिरो जाँदा सवारी साधनलाई आवतजावतमा समस्या परेको बताए।

गत मंगलबार मुग्लिन–नारायण घाट खण्डमा पर्ने तुइन खोलामा एउटा ठूलो ढुंंगासहित पहिरो गएपछि उक्त खण्डामा घण्टौंसम्म सवारी साधन बाटोमा रोकिएकोमा बिहीबार रातिबाट सो सडक सञ्चालनमा आइसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *