नीजि सम्पत्ति तोडफोड र आगजनी निन्दनीय- काठमाडाैं उपत्यका मेयर्स फोरम

Thankot Times

थानकोट ।

ललितपुरको गोदावरी नगरपालिकामा बिहीबार काठमाडौँ उपत्यका मेयर्स फोरमको बैठक सम्पन्न भएको छ ।

फोरमको बैठकले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा भएको तोडफोड, आगजनीप्रति गम्भीर आपत्ति व्यक्त गर्दै घोर निन्दा गरेको छ ।

फोरमले आन्दोलनका नाममा सिंहदरबार, सर्वोच्च अदालत, महानगरपालिकाका भवन, सुरक्षा निकायका कार्यालय लगायतका, जनप्रतिनिधिका निजी सम्पत्ति माथि आक्रमण, तोडफोड र आगजनी भएकोमा कडा शब्दमा निन्दा गरेको छ ।

फोरमको १२ औँ बैठकले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा आगलागी भएको सिंहदरबार भवनको पुनःनिर्माण गर्न ५ करोड,  सीसीटिभी प्रणाली व्यवस्थापन गर्न उपत्यका प्रहरी कार्यालयलाई १ करोड सहयोग गर्ने निर्णय गरेको बताइएको छ ।

जेन-जी आन्दोलनका क्रममा भदाै २४ गते चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीको थानकोटस्थित ३ वटा घर, नागार्जुन नगरका मेयर मोहन बस्नेतको १ घरमा समेत तोडफोड, लुटपाट र आगजनी भएको थियो । यद्यपी, उक्त आन्दोलनका क्रममा जनप्रतिनिधिका के-कति नीजि सम्पतिमा क्षति पुगेको छ सो को विवरण संकलनको कार्य भइरहेको काठमाडौँ उपत्यका मेयर्स फोरमका महासचिव एवं चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले जानकारी दिए ।

काठमाडाैं उपत्यकाका स्थानीय तहका प्रमुख र उपप्रमुखको प्रतिनिधित्वसहित २०७४ सालमा मेयर्स फोरम गठन भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *