अमेरिकी ‘डीभी’ भर्न अब एक डलर शुल्क तिर्नुपर्ने
थानकोट ।
अमेरिकाले ईलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डीभी) आवेदन दर्ताका लागि एक डलर शुल्क तोकेको छ ।
यसअघि कुनै शुल्क नलाग्ने गरेकोमा अब आवेदन फारमसँगै एक डलर शुल्क तिर्नुपर्ने अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
धोकाधडी घटाउने र प्रशासनिक खर्च सबै आवेदकमा वितरण गर्ने उद्देश्यले एक डलर शुल्क लिने निर्णय गरिएको अमेरिकाको फेडरल रजिष्ट्ररले निकालेको सूचनामा उल्लेख छ ।
यो नयाँ नियम यही वर्षको अक्टोबरमा खुल्ने आवेदनदेखि लागू हुनेछ ।
डीभी परिसकेपछि भिसा शुल्कवापत तिर्नुपर्ने तीन सय ३० डलर शुल्क भने यथावत छ ।
शुल्क आधिकारिक सरकारी पोर्टलमार्फत् तिर्नुपर्ने छ । जुन तिरिसकेपछि फिर्ता हुने छैन् ।
प्रतिकात्मक शुल्क देखिए पनि धेरैजसो नेपालीसँग डलर कार्ड नहुने भएकोले आवेदकहरूलाई व्यवहारिक कठिनाइ हुन सक्ने डीभी भराउनेहरुको आशङ्का छ । तर बैङ्क क्षेत्रका जानकारहरु भने शुल्क र समय केही बढी लागे पनि बैङ्क तथा वित्तिय संस्थामार्फत शुल्क तिरेर डीभी भर्न सकिने बताउँछन् ।
यो कार्यक्रमअन्तर्गत हरेक वर्ष झन्डै ५० हजार आप्रवासीलाई अमेरिकाले स्थायी बसोबास गर्ने अनुमति दिने गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयको तथ्याङ्क अनुसार नेपालबाट वर्षेनि चार लाखदेखि सात लाखसम्मले ई-डीभीका लागि आवेदन दिने गरेकामा साढे तीन हजारदेखि चार हजारसम्मले स्थायी बसोबास अनुमति पाउने गरेका छन् ।
एक डलर थोरै देखिए पनि आवेदकको सङ्ख्याका कारण यसबाट अमेरिकाले वर्षेनि झन्डै साढे दुई करोड डलर राजश्व उठाउन सक्ने अनुमान छ ।

















