कस्ताे रहला आज आइतबारको माैसम ?

Thankot Times

थानकोट ।

देशका केही स्थानमा आइतबार (असोज १२) वर्षाको पूर्वानुमान छ । कोसी र वाग्मती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा ‘भारी’ वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस दिन दिउँसो देशको पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ । साधारणतया बदली भनेको ५१ देखि ७५ प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्था हो । २६ देखि ५० प्रतिशतसम्म आकाश बादलले ढाक्नुलाई आंशिक बदली भनिने महाशाखाले जनाएको छ ।

“कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ,” महशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

आइतबार राति कोसी र मधेश प्रदेसलगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ ।

“कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर छ । स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *