सानुमायासहितको कराते टोली मलेसिया जाने
थानकोट ।
डब्लूकेएफ कराते वान सिरिज ‘ए’ मा सहभागी हुन नेपाली कराते टोली मलेसियाको क्वालालम्पुर जाने भएको छ ।
मलेसिया कराते महासंघको आयोजनामा यही असोज १७ देखि १९ गतेसम्म हुने प्रतियोगितामा चार महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
एरिका गुरुङले ६८ केजीमाथि, वर्षा बुढामगरले ५० केजीमुनि, सविना श्रेष्ठले ५५ केजीमुनि र सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा कुशल श्रेष्ठ छन् । तारा गुरुङले निर्णायकको भूमिका निर्वाह गर्नेछिन् ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले आइतबार आयोजित एक कार्यक्रममा बिदाइ गरे ।
नेपाली टोली बुधबार मलेसिया जानेछन् ।















