गिद्दे एकादशीका दिनदेखि नेपालका धेरै स्थानमा वर्षा हुने अनुमान

Thankot Times

थानकोट ।

जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेबाट मनसुन थप सक्रिय हुने जानकारी दिँदै सावधानी अपनाउन अनुरोध गरेको छ ।    

विभागले दशैँ विशेष दोस्रो मौसम बुलेटिन जारी गरी बङ्गालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा असोज १७ गतेबाट मनसुन थप सक्रिय भई देशका धेरै ठाउँमा वर्षा हुने जानकारी गराएको छ ।

विभागकी मौसमविद् विनु महर्जनले भनिन्, ‘हालको मौसम विश्लेषणअनुसार नेपालमा मनसुनी वायुको प्रभाव केही कमजोर रहे पनि बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणाली भारतको ओडिसाबाट जमिनको भू–भाग हुँदै प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको छ । त्यो नेपालमा प्रवेश गर्न लागेको र यही १७ गते यहाँ आइपुग्ने हुँदा मनसुन थप सक्रिय हुने सम्भावना देखिएको छ ।’

उनले न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गरी असोज १७ (एकादशी)का दिनबाट देशका विभिन्न भूभाग खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको बताइन् ।

‘तसर्थ, नेपालमा यस वर्षको दशैँ अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने छ । हाल नेपालमा मनसुनी वायुको प्रभाव र स्थानीय वायु विकसित हुँदा नेपालमा मौसम बदली भइरहेको छ’, उनले भनिन् । 

असोज १७ (एकादशी)मा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराई भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ