यी तीनवटै मोडलका अनुसार असोज १७ गते शुक्रबारदेखि पूर्वी नेपालबाट त्यसको प्रभाव सुरु हुन्छ । असोज १८ र १९ गते यसको प्रभाव अझ बढी देखिन्छ । त्यसको असरले कुनै–कुनै स्थानमा भारीदेखि अति भारी वर्षा गराउने प्रक्षेपण छ ।
विभागका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्रको प्रभाव भारतको ओडिसाका भू–भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमश: सर्ने छ ।
त्यसले नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गर्ने छ । र, असोज १७ गते (एकादशी) का दिनबाट खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ ।
यसको असरले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा वर्षा हुने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
असोज १८ गते (द्वादशी)को दिन पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस दिन कोशी, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
असोज १९ गते (त्रयोदशी) को दिन कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस दिन कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा र एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ ।
त्यो वर्षाले विशेषगरी बागमती प्रदेशका काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवनमा बाढी, पहिरो र डुबानको जोखिम हुने जनाइएको छ ।
यसैगरी कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङमा पनि जोखिम हुने ठानिएको छ ।
यस्तै मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्लालाई पनि जोखिम सूचीमा राखिएको छ ।
यसैबीच प्रहरी वृत्त थानकोटले चन्द्रागिरि नगरभित्र पहिराेकाे सम्भावना रहेको क्षेत्रहरुमा यात्रा गर्दा सजगता अपनाउन सबैमा अनुराेध गरेको छ।
प्रहरीले चन्द्रागिरिसँग सीमा जाेडिएकाे गणेशमान सिंह मार्ग (थानकोट-चित्लाङ सडक), मसिने देउराली सडक, नागढुङ्गा-सिस्ने खाेला सडक, इन्द्रदह-नैकाप सडक, मातातिर्थ- चखेल देउराली सडकमा लगायतका क्षेत्र पहिराेकाे जाेखिममा रहेकाेले साे स्थानमा यात्रा गर्दा सावधानी अपनाउन अपील गरेकाे हाे।
थानकोट-चित्लाङ सडक वर्षेनी पहिराेकाे चपेटामा पर्ने गरेकाे छ भने नागढुङ्गा-सिस्नेखाेला सडकपनि वर्षाका कारण पटकपटक अवरुद्ध हुने गरेको छ । गतवर्ष असाेज ११ र १२ गतेकाे भीषण वर्षासँगै यस सडक खण्डको झ्याप्ले खाेलामा लेदाेसहित खसेको पहिरोमा परि ३५ जना भन्दा धेरैले ज्यान गुमाएका थिए ।

फाइल फाेटाे